SEE रद्द पछि शिक्षक र विद्यालयको मुल्याङ्कन

बाबुराम अधिकारी


कोरोना महामारीका कारण सञ्चालनको १५ घण्टा अघि मात्र स्थगित नेपालमा विद्यालय तहको कक्षा दशको अन्तिममा लिइने SEE परीक्षालाई यस वर्षको लागि नलिने गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७७ जेष्ठ २८ को निर्णयले रद्ध गरेको छ ।
परीक्षाको सम्पुर्ण तयारी गरिसकेका विद्यार्थीहरु करिव ८० दिनको अन्योलतापुर्ण छटपटी पछि विद्यालयले लिएको मुल्याङ्कनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट प्रदान गर्ने गरि व्यवस्था मिलाउने निर्णय भयो । सरकारले छिट्टै निर्देशिका बनाएर पठाउने छ र सोही निर्देशन अनुसार विद्यालयहरुले विद्यार्थी मुल्याङ्कन गर्नेछन् । नेपालको S.L.C. परीक्षाको १९९० साल देखिको इतिहासमा पहिलो पटक विश्व महामारीका कारण परीक्षा रद्ध हुन पुगेको छ । परीक्षा स्थगित भइसकेपछि तमाम शिक्षाविद्हरुको सुझाव समेत विद्यालय तहमा ३ वटा राष्ट्रिय परीक्षा आवश्यक छैन र यस वर्ष देखि SEE परीक्षा सधैका लागि विद्यालयलाई जिम्मा दिनु पर्ने आवाज आइरहेको सन्दर्भमा सरकारले यो वर्षको लागि रद्ध गरेर झण्डै ५ लाख विद्यार्थी र अभिभावकको अन्योलताको अन्त्य गरेको छ । वार्षिक रुपमा लिइने तीन घण्टे परीक्षालाई नै सम्पुर्ण विद्यार्थी मुल्याङ्कनको समग्रता बुझेको नेपाली समाजमा SEE परिक्षाको सन्दर्भमा भएको नयाँ व्यवस्था चासोको विषय बनेको छ ।
सरकारको यस निर्णयपछि शिक्षा जगतमा सकारात्मक र नकारात्मक दुवै प्रकारका प्रतिक्रियाहरु आइरहेका छन । एकथरी मानिसहरु यो निर्णय स्वागत योग्य मान्दछन र यसको निरन्तरता चाहन्छन् । उनिहरुको तर्क अनुसार जसले वर्षभरी शिक्षण गर्दछ उसैले गर्ने मुल्याङ्कन विश्वसनिय तथा वस्तुनिष्ठ हुन सक्दछ । यसरी गरिने मुल्याङ्कन वर्षभरीका शैक्षिक गतिविधीका आधारमा हुने हुँदा विद्यार्थीलाईं परीक्षाको अनावश्यक भय समेत नहुने र निर्धक्क आफ्ना सृजनात्मक क्रियाकलापहरु प्रस्तुत गर्न सक्दछ । यसरी आधुनिक शिक्षण सिकाइ प्रक्रियाको अभिन्न र अपरिहार्य अंग मुल्याङ्कनमा विद्यालय र शिक्षकलाई पूर्ण जिम्मेवार बनाउने कार्य सकारात्मक छ । यस सन्दर्भमा SEE को मुल्याङ्कन विद्यालयमा गर्दा हुने सकारात्मक पक्षहरु ः

वैज्ञानिक र विश्वसनिय मुल्याङ्कन :- शिक्षण प्रक्रियाको महत्वपुर्ण पक्षलाइ निश्चित समयको पेपर पेन्सिल टेष्टमा सिमित गर्दा विद्यार्थीको वास्तविक मुल्याङ्कन नहुने, घोक्ने प्रवृत्तिले प्रोत्साहन पाउने र परीक्षाको अवधिमा आइपर्ने विभिन्न क्षणिक समस्याहरुको प्रत्यक्ष प्रभाव समग्र मुल्याङ्कनमा पर्ने समस्याहरु सामना गरिरहन परेको छ । तसर्थ मुल्याङ्कनलाई क्रियाकलापमा आधारित बनाएर वर्षभरी विद्यार्थीले गरेका कक्षा कार्य, आवधिक परीक्षाहरु र परियोजना कार्यको आधारमा गरिने हुँदा मुल्याङ्कनमा विश्वासनियता र वस्तुनिष्ठता आउँन सक्दछ । यसरी शिक्षण सिकाइ कार्यमा संलग्न शिक्षकले नै विद्यार्थीको विभिन्न पक्षको वास्तविक जानकारी राख्ने हुँदा शिक्षकले गर्ने मुल्याङ्कन सबैभन्दा बढी वैज्ञानिक र विश्वसनिय हुन्छ ।

आर्थिक तथा अन्य क्षतिको न्युनिकरण :- नेपाल जस्तो गाउँ नै गाउँले भरिएको देशमा परीक्षाको तयारी तथा परीक्षा सम्पन्न गर्न अभिभावकको ठूलो धनराशी खर्च हुन्छ । नेपालमा क्भ्भ् परीक्षा सञ्चालनमा प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी समेत परिचालित हुनुपर्ने भएकोले यो कार्य आर्थिक रुपमा समेत बोझिलो छ । विद्यार्थीले आफ्नो सिकाइ क्रियाकलापको एउटा अंगको रुपमा विद्यालयमै शिक्षकद्धारा मुल्याङ्कन समेत हुने हुँदा ठुलो खर्च वचत हुन्छ । प्रत्येक वर्ष कपी परिक्षण तथा नतिजा तयारीमा भएका मानविय कमजोरीले आउने अप्रत्याशित नतिजा सहन नसकी किशोर तथा किशोरीहरुले अप्रिय निर्णय समेत लिने अवस्था आउँछ । विद्यालयमा शिक्षण सिकाइ क्रियाकलापहरु संगै हुने मुल्याङ्कनको जानकारी हुने हुँदा यस प्रकारको समस्याको समाधान हुन्छ । विद्यालयमा शिक्षकहरुबाट गरिने मुल्याङ्कनमा विद्यार्थी आफ्नो सम्भावित नतिजाको बारेमा जानकार रहने हुँदा आफ्नो नतिजा स्वीकार गर्न सहज हुन्छ ।

विद्यार्थीको नियमितता तथा लगनशिलता :- शिक्षाको गुणस्तर र विद्यार्थीको नियमितताको सकारात्मक सम्बन्ध रहन्छ । खास गरेर सामुदायिक विद्यालयका अधिकांश विद्यार्थीहरु विविध कारणले पठन पाठनको क्रममा विद्यालयमा उपस्थित नहुने तर परिक्षामा आउने प्रवृत्ति बढी रहेको हुन्छ । यदी यस प्रकारले मुल्याङ्कन गर्ने व्यवस्था भएमा विद्यार्थी नियमित कक्षामा उपस्थित हुने र पढाइ प्रति लगनशिल तथा अनुशासित बनाउन मद्धत पुग्दछ ।
अर्कोतर्फ हाम्रो समाजमा see परिक्षालाई अवसरको रुपमा बुझ्ने र तामझाम सहितको तयारी र परीक्षा सञ्चालनमा अभ्यस्त रहेको ठुलो तप्का यस निर्णय प्रति सकारात्मक देखिएको छैन । केन्द्र सञ्चालन, अनुगमन, परिक्षण तथा अन्य गतिविधीमा संलग्न हुनुलाइ गर्वको विषय बनाउने तथा दशौँ वर्ष आफ्ना बालबालिकाको शिक्षाको लागी लाखौँ लगानी गरेका अभिभावकले त्यसको प्रतिफल SEE को नतिजालाई सम्झने प्रवृत्तिले यस निर्णयलाइ सहजै स्वीकार नगरेको देखिन्छ । SEE नतिजालाई नै आफ्नो विद्यालयको उपलब्धिको रुपमा प्रचार गरेर विद्यार्थी आकर्षणको प्रमुख माध्यम बनाउनेहरुका लागी समेत यो निर्णय निको लागेको छैन । यस प्रकारको मनोविज्ञान राखेका पङ्तीले विभिन्न तर्कहरु गरेको पाइन्छ ।

निजि विद्यालयका सबैको A+ नतिजा ः सरकारको यो निणर्य पछि सामाजिक सञ्जालमा देखिएको प्रतिक्रिया हो अब निजि विद्यालयका सबै विद्यार्थीको A+ नतिजा आउँछ । गुणस्तरिय शिक्षाको दावा गर्ने निजि विद्यालयहरुले SEE परिक्षा सञ्चालनको समयमा दिने बढी चासोका कारणले यो तर्क आएको देखिन्छ । विद्यार्थीलाइ ग्रेड प्रदान गर्दा कन्जुस्याई गर्नु हुँदैन । विद्यार्थीलाई उनिहरुले गरेको क्रियाकलापमा नम्बर प्रदान गर्दा उदार हुन निजि विद्यालयबाट सामुदायिक विद्यालयका शिक्षकले सिक्नु पर्दछ । अधिकार छ भन्दैमा सबैलाई एकनासको ग्रेडीङ्र्र गरेमा शिक्षा प्रणाली र विद्यालयको विश्वसनियता नै नरहने तर्फ समेत सचेत हुनुपर्दछ ।

सर्टिफिकेट किनबेच ः नेपाल अल्पविकसित देश हो यहाँ सबै क्षेत्रमा समस्याहरु रहेका छन । शिक्षा क्षेत्र समेत अछुतो छैन । विद्यालय तहदेखि विश्व विद्यालय तह सम्मका परीक्षाहरु प्रभावित पार्न विभिन्न बहानामा आर्थिक लगानी हुने गरेको छ । परीक्षा केन्द्र तथा परिक्षणकार्यलाइ समेत प्रभावित पारेर नतिजा आफ्नो पक्षमा पार्न पछि नपर्ने विद्यालयमा हुने मुल्याङ्कनमा आर्थिक तथा अन्य प्रलोभन प्रयोग गरि विद्यालय र शिक्षकलाई प्रभावित पार्ने आशंका गरिएको छ ।

हचुवामा मुल्याङ्कनः प्राथमिक तहमा नेपाल सरकारले वि.सं. २०५६ सालदेखि निरन्तर मुल्याङ्कन प्रणाली लागु गरेको छ । जुन हाल कक्षा ७ सम्म ४० प्रतिशत हुने गर्दछ । यो प्रणाली सामुदायिकमा मात्र लागु छ र यसको मर्म र सिद्धान्त्त अनुसार हुन सकेको छैन । यसलाई बाध्यात्मक रुपमा सम्पन्न गरिदै आएको छ । दैनिक विद्यार्थीका क्रियाकलापलाई आधार मानेर गर्नुपर्ने मुल्याङ्कन वर्षको एकै पटक औपचारिकताको लागी मात्र गर्ने प्रवृत्तिले विश्वसनियता र प्रभावकारिता शुन्य प्राय छ । हाल कक्षा १० का विद्यार्थीको मुल्याङ्कन गर्दा समेत लापरर्वाही हुन सक्ने सम्भावना औल्याइएको छ ।

चुनौती र अवसर
सरकारको यस निर्णय संगै नेपालको परीक्षा प्रणालीमा चुनौती र अवसर दुवै आएका छन् । विश्वका राम्रो भनेका शिक्षा प्रणाली रहेका देशहरुमा निरन्तर मुल्याङ्कनलाइ नै प्रमुख रुपमा अबलम्वन गर्दै आएको पाइन्छ । अमेरिकामा समेत विद्यार्थीको मुल्याङ्कनको जिम्मा पुर्णतया शिक्षकको जिम्मामा रहने व्यवस्था रहेको छ । हामी ३ घण्टे परीक्षा प्रणालीमा अभ्यस्त रहेका कारणले मात्र हो नत्र निरन्तर रुपमा शिक्षकले गर्ने मुल्याङ्कन नै वैज्ञानिक र विश्वसनिय मुल्याङ्कन हो । शिक्षण कार्यमा संलग्न शिक्षकलाई कम विश्वास गरि निजामती कर्मचारीहरु रहेको परीक्षा बोर्ड तथा नियन्त्रण कार्यालयलाई विद्यार्थी मुल्याङ्कनको जिम्मा लगाउने परिपाटीको अन्त्य गर्ने अवसर कोभिड १९ ले यो वर्ष दिएको छ । यस निर्णयले नेपालमा पनि विद्यार्थी मुल्याङ्कनमा अब शिक्षकलाई विश्वास गर्ने वातावरण श्रृजना हुने अवसर आएको छ ।
सरकारको यस निर्णय संगै तमाम चुनौतीहरु आएका छन । अवसरले चुनौती संगै लिएर आएको हुन्छ । त्रैमासिक परीक्षाको नतिजा अर्धबार्षिक संगै प्रकाशित गर्ने बानि लागेका हामी शिक्षकलाई अब त्यो विलम्व गर्ने छुट छैन । हाल कायम रहेको विभिन्न विषयको प्रयोगात्मक परीक्षाको मुल्याङ्कन जस्तो कर्मकाण्डी मुल्याङ्कन गरेर विश्वासनियता गुमाउने छुट अब शिक्षकलाई हुनेछैन । हामीले गर्ने मुल्याङ्कनलाई ज्बििय भाभअत बाट मुक्त्त राख्ने अर्को चुनौती हो । शैक्षिक सत्रभरी आफै शिक्षण गरेका विद्यार्थीको मुल्याङ्कन आफै गर्दा हामीले आफ्नो पेशाको मर्यादा कायम गरी सकेसम्म पारदर्शी र वास्तविक मुल्याङ्कन गर्नु पर्दछ । हामी शिक्षकहरुले मानविय स्वभावको आधारमा विद्यार्थीको मुल्याङ्कनलाई आधार बनाएर आफ्ना दैनिक शिक्षण कार्य प्रतिको इमान्दारितामा कमी हुन दिनुहुँदैन । सरकारको यस निर्णय पछि निजि विद्यालयलाई पनि बढो चासोपुर्वक हेरिएको छ । निजि विद्यालयले पनि शिक्षकलाई नै पुर्ण जिम्मेवार बनाएर अभिभावकबाट आउन सक्ने दवाबलाई समेत सामना गरी विद्यार्थीको मुल्याङ्कनलाइ यथार्थ बनाउनु ठुलो चुनौती छ । ग्रेडसिटमा उल्लेखित ग्रेडलाई नै वास्तविक क्षमता ठान्ने र आफ्नो गर्वको विषय बनाउने अभिभावकहरुले आफ्ना बालबालिकाको मुल्याङ्कनमा विद्यालयमा दवाब दिने सम्भावनालाई पुर्णरुपमा नकार्न सकिदैन । तमाम खाले समस्यालाई झेलेर सकेसम्म वास्तविक मुल्याङ्कनका लागि सबै प्रतिबद्ध भएर लाग्नु पर्दछ ।
कोरोना महामारीकै कारणले भए पनि नेपालमा पहिलो पटक कक्षा १० का विद्यार्थीको मुल्याङ्कन गर्ने जिम्मा विद्यालय र शिक्षकलाई आएको छ । यस अवसरलाई तमाम चुनौतीको सामना गरी यथार्थ मुल्याङ्कन गर्ने कार्यमा शिक्षक जिम्मेवार र जवाफदेही हुनै पर्दछ । बाहिर प्रहरीको पहरा राखेर लिइने तीन घण्टे परीक्षा प्रणालीको  तुलनामा   शिक्षकले कक्षाकोठाका क्रियाकलापको आधारमा गरिने मुल्याङ्कन वैज्ञानिक, व्यवहारिक र विश्वसनिय छ भन्ने प्रमाणित गर्ने अवसर इतिहासले हामीलाई सुम्पेको छ ।

शिक्षक ,श्री प्रभात नमुना मा.वि., बैजनाथ ५ बाँके ।

सम्बन्धित समाचार