भट्टेको स्याउलाबाट सुरु भएको बर्दियाकाे “स्याउली बजार”
बर्दिया, बर्दिया जिल्ला ,बढैयाताल गा.पा. स्थित हालको स्याउली बजार आजभन्दा करिब ४८ वर्ष अगाडि स्थापना भएको ऐतिहासिक बजार हो। तत्कालीन समयमा स्याउली बजार मैनापोखर गाउँ पञ्चायत वडा नम्बर ७ अन्तर्गत पर्दथ्यो। पछि २०३८ सालमा मोहम्मदपुर गाउँ पञ्चायतको केही भाग र मैनापोखर गाउँ पञ्चायतको केही भाग छुट्याई कालिका गाउँ पञ्चायत गठन गरिएसँगै स्याउली बजार कालिकाको हिस्सा बनेको हो। 
त्यस समयमा कण्ठपुर, मुनालबस्ती, मयुरबस्ती र ब्रमेलिटोल पुनर्वास कम्पनीअन्तर्गत बसाइएका बस्तीहरू थिए। विशेषगरी ब्रमेलिटोलमा बर्माबाट विस्थापित भई नेपाल आएका नेपालीहरूलाई पुनर्वास कार्यक्रमअन्तर्गत बसोबास गराइएको थियो।
ब्रमेलिटोलमा बसोबास गर्न आएका व्यक्तिमध्ये एक हुनुहुन्थ्यो टेक नारायण ढकाल। उहाँले २०३४ सालमा स्याउली बजारमा पहिलोपटक एउटा होटल सञ्चालन गर्नुभयो। सो होटल भट्टेको स्याउलाले बारिएको र भट्टकै स्याउलाले छाना छाइएको थियो। यही कारण स्याउलाबाट बनेको घरमा सञ्चालन गरिएको पसलका कारण उक्त स्थानलाई “स्याउली बजार” नामले चिनिन थालिएको हो।
टेक नारायण ढकालपछि क्रमशः प्रेमकुमार श्रेष्ठ, सूर्यबहादुर गुरुङ, टेकबहादुर खड्का, गंगाबहादुर केसी, डम्बरबहादुर कुवर, रबिलाल विश्वकर्मा, सरस्वती कँडेल रानाभाटलगायतले पसलहरू खोली व्यवसाय सञ्चालन गर्न थाले। यससँगै उक्त स्थान स्याउली बजारको रूपमा परिचित हुँदै गयो।
पछि खडकबहादुर थापा मगर, चन्द्रबहादुर रानाभाट, रघुनाथ, तुलावाच मेकर, रत्नबहादुर राना, के.बी. गुरुङ, कुस्मेली, रामजी घर्ती, गोर्जेली बा र भगिरथ घिमिरेलगायतले पनि पसलहरू सञ्चालन गरेपछि स्याउली बजार सानो बजारका रूपमा विकसित भयो। यद्यपि पछिल्ला वर्षहरूमा अन्य पसलहरू खुले पनि बजारले अपेक्षित आकार र गति लिन सकेको छैन।
कालिका क्षेत्रको पुरानो इतिहास बोकेको स्याउली बजार लामो समय बितिसक्दा पनि विकासको गतिमा अघि बढ्न नसकेको स्थानीयको भनाइ छ।
(यो विवरण आज स्याउली बजारस्थित ईश्वर राना भाइको चिया पसलमा चिया खाँदै गर्दा ईश्वर राना, मनु सर, बुवा रत्नबहादुर राना र दाजु बलराम गौतमसँग भएको छलफलबाट तयार पारिएको टिपोटका आधारमा तयार गरिएको हो।)
अर्जुन सुवेदीकाे फेसबुक वालबाट साभार




