डा.भट्टराईको प्रश्न : कमजोरलाई सजाय, शक्तिशालीलाई उन्मुक्ति दिने न्यायिक प्रणाली के गर्ने?

नेपालगन्ज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा न्यायिक प्रणालीको निष्पक्षतामाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टराईले लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्ने बताए पनि कमजोर र गरिब व्यक्तिले सानो अपराध गर्दा तत्काल पक्राउ पर्ने तथा शक्तिशाली र सम्पन्न व्यक्तिले प्रमाण नछोडी ठूलो अपराध गर्दा प्रमाणको अभावमा निर्दोष ठहरिने अवस्थामाथि प्रश्न उठाएका हुन्।
उनले लेखेका छन्, ‘झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको काँक्रो चोर्दा पक्रिएर दण्डित हुने, अनि पेट भरिएको सुकिलामुकिलाले सबुत नछोडीकन भित्ता फोरेर हिरा चोर्दा प्रमाण नभेटिएर निर्दोष ठहर्ने—हाम्रो यस्तो न्यायिक प्रणालीलाई के गर्ने?’

भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठूला माछा समात्ने प्रकरणमा एकपछि अर्को गर्दै पछि हट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताएका छन्।
देशलाई व्यवस्थित ढंगले लुट्दै आएका र भविष्यमा पनि त्यस्तो गतिविधि गर्ने विभिन्न भेषधारी गिरोहलाई नियन्त्रण नगरी सुशासन र समृद्धिको वास्तविक सुरुवात हुन नसक्ने उनको भनाइ छ।


ताजा समाचार