नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको २४औँ जिल्ला परिषद सम्पन्न
बाँके , नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको २४औँ जिल्ला परिषद् शनिबार कोहलपुरस्थित खड्गवारमा सम्पन्न भएको छ। परिषदमा जिल्लाका ८ वटै स्थानीय तहबाट १ सय ५० भन्दा बढी शिक्षकको सहभागिता रहेको संगठनका जिल्ला सचिव डा. पूर्णबहादुर शाहीले जानकारी दिनुभयो।
परिषदकाे उद्घाटन गर्दै प्रमुख अतिथि तथा संगठनका केन्द्रीय सचिव वामदेव सुवेदीले शिक्षकहरूलाई विद्यालयको नियमित शैक्षिक गतिविधिमा असर नपर्ने गरी विद्यालय समयबाहेक संगठनात्मक गतिविधि सञ्चालन गर्ने लोकतान्त्रिक अधिकार रहेको बताउनुभयो। उहाँले शिक्षक संगठनहरू पेशागत हकहित संरक्षण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा शिक्षक एकताको सुदृढीकरणमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
संगठनका बाँके जिल्ला अध्यक्ष बावुराम अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज रेखा धिताल, लुम्बिनी प्रदेश उपाध्यक्ष शिवशंकर रोकाया, पूर्व प्रदेश अध्यक्ष राजेन्द्र सापकोटा , शिक्षक महासंघ बाँकेका अध्यक्ष महेश शर्मा लगायतकाे उपस्थिति रहेको थियो।
परिषदमा जिल्ला सचिव डा. पूर्णबहादुर शाहीले संगठनात्मक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमाथिको छलफलपछि संगठनका आगामी कार्यक्रम, शिक्षकका पेशागत अधिकार तथा शैक्षिक सुधारका विषयमा विभिन्न सुझावहरू प्रस्तुत गरिएको थियो।

यसै अवसरमा बाँकेका ८ वटै स्थानीय तहका छैटौँ पालिकास्तरीय परिषद्हरू समेत एकैसाथ सम्पन्न भएका छन्। पालिकास्तरीय परिषद्हरूले स्थानीय तहमा संगठन विस्तार, शिक्षकका साझा मुद्दा उठान तथा संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा निर्णय गरेका छन्।
जिल्ला परिषद्ले संगठनलाई थप क्रियाशील बनाउँदै शिक्षकहरूको पेशागत हकहित तथा गुणस्तरीय शिक्षाको पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




