केप भर्डेले जित्यो नेपाली दर्शकको मन
काेहलपुर, फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिनाविरुद्ध केप भर्डेले गरेको उत्कृष्ट प्रदर्शनले नेपाली फुटबलप्रेमीको मन जितेको छ। 
विश्व फुटबलको शक्तिशाली टोली अर्जेन्टिनालाई निर्धारित समयभर कडा चुनौती दिएको केप भर्डेको खेल सामाजिक सञ्जालमा नेपाली दर्शकले खुलेर प्रशंसा गरेका छन्।
खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको थियो। अतिरिक्त समयमा दुवै टोलीबाट गोल भए पनि अन्ततः अर्जेन्टिना ३–२ गोल अन्तरले विजयी हुँदै अन्तिम १६ मा स्थान बनाउन सफल भयो।
पराजित भए पनि केप भर्डेले देखाएको आत्मविश्वासी खेल, अनुशासित रक्षापङ्क्ति र गोलरक्षक भोजिन्हा (Vozinha) को उत्कृष्ट प्रदर्शनले सबैको ध्यान खिच्यो। अर्जेन्टिनाका स्टार खेलाडीहरूको लगातार आक्रमणलाई उनले पटक–पटक विफल बनाएका थिए। उनका महत्वपूर्ण बचाउका कारण केप भर्डे लामो समयसम्म खेलमा प्रतिस्पर्धी रहन सफल भएको थियो।
सामाजिक सञ्जालमा नेपाली दर्शकहरूले केप भर्डेलाई प्रशंसा गरेका छन् भने गोलरक्षक भोजिन्हाको साहसी प्रदर्शनलाई विशेष रूपमा सराहना गरेका छन्। हारका बाबजुद केप भर्डेले आफ्नो संघर्षपूर्ण प्रदर्शनमार्फत विश्व फुटबलमा बलियो छाप छाड्न सफल भएको प्रतिक्रिया फुटबल समर्थकहरूले दिएका छन्।




