इङ्ल्याण्डलाई २-१ ले हराउँदै अर्जेन्टिना विश्वकपकाे फाइनलमा
अर्जेन्टिनाले इङ्ल्याण्डलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टामा बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा पछिबाट उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इङ्ल्याण्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता बनाएको थियो। तर अर्जेन्टिनाले हार मानेन। ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गरे भने इन्जुरी समयमा कप्तान लियोनेल मेस्सीको उत्कृष्ट पासलाई लाउटारो मार्टिनेजले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए।
यस जितसँगै अर्जेन्टिनाले अब उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। 




