भाेलिदेखि कक्षा १२ काे परीक्षा सुरु हुँदै, कोहलपुरमा मात्रै ८ वटा केन्द्र

काेहलपुर ,भोलि देखि सुरु हुन लागेको कक्षा १२ को परीक्षाका लागि बाँके जिल्लामा सबै तयारी पूरा भएको छ।

जिल्लाभर २६ वटा परीक्षा केन्द्र तोकिएका छन्, जसमा कोहलपुर नगरपालिकामा मात्रै ८ केन्द्र सञ्चालन हुनेछन्।
राष्ट्रिय परीक्षा बोर्ड, कोहलपुर कार्यालयका प्रमुख प्रकाश शाहीका अनुसार यस वर्ष बाँकेबाट कुल ९ हजार ९ सय ४ जना परीक्षार्थी सहभागी हुँदैछन्। तीमध्ये ७ हजार १ सय २४ जना नियमित र २ हजार ७ सय ८० जना आंशिक (ग्रेडवृद्धि)तर्फका विद्यार्थी छन्।
परीक्षामा दुई बालसुधार गृहमा रहेका २७ जना बालबिज्याइँकर्तासमेत सहभागी हुने भएका छन्।
जिल्लामा १ सय ७ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। परीक्षा केन्द्रको वितरणअनुसार नेपालगञ्ज उपमहानगरपालिकामा १३, काेहलपुरमा ८ बैजनाथ र खजुरामा २–२ तथा राप्तिसोनारीमा १ केन्द्र तोकिएको छ।
कार्यालयका अनुसार केन्द्राध्यक्षलाई अभिमुखीकरण गरिसकिएको, उत्तरपुस्तिका सबै केन्द्रमा पुर्‍याइएको र प्रवेशपत्र वितरणसमेत सम्पन्न भएको छ। परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति तथा सुरक्षा व्यवस्थासमेत मिलाइएको बताइएको छ।


ताजा समाचार