यादव भट्टराईको ‘झिल्को’ दिल्ली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट

 

काठमाडौँः यादवकुमार भट्टराई निर्देशित नेपाली कथानक चलचित्र झिल्को भारतको प्रतिष्ठित दिल्ली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रतिस्पर्धाका लागि छनोट भएको छ ।

झिल्को बालबालिकामा डिजटल प्रविधिको अनियन्त्रित प्रयोगले पार्ने मनोवैज्ञानिक प्रभाव, त्यसले बालबालिकाको जीवन र पारिवारिक सम्बन्धमा पार्ने गम्भीर असरको कथामाथि बनेको फिल्म हो। झोला र भोरजस्ता सफल चलचित्र निर्देशन गरेका भट्टराईको यो तेस्रो फिल्म हो। गत वर्ष वैशाखमा नेपाली सिनेमा घरहरूमा सीमित प्रदर्शन भएको थियो भने पुन: व्यापक प्रदर्शनको तयारी भैरहेको छ। चलचित्रलाई बालबालिका र अभिभावकहरूले निकै रुचाएका छन् ।


आगामी मे ४ देखि ८ सम्म नयाँ दिल्लीस्थित इन्दिरा गान्धी नेसनल सेन्टर फर आर्टमा आयोजना हुने दिल्ली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १५औँ संस्करणमा विश्वभरिका ५० देशमा एक सयभन्दा बढी चलचित्र प्रदर्शन हुँदैछन् । महोत्सवको अन्तिम दिन मे ८ मा स्थानीय समयअनुसार बिहान १०:३० देखि १२ बजेसम्म झिल्को प्रदर्शन गर्ने कार्यतालिका रहेको छ।

चलचित्रको मुख्य कलाकारमा वरिष्ठ अभिनेता सुनील पोखरेल, चर्चित अभिनेत्री वर्षा सिवाकोटी, अभिनेता विशाल पोखरेल र बाल कलाकार आयुषी ढकालको अभिनय रहेको छ। चलचित्रको कार्यकारी निर्मातामा उमेश पौडेल छन् भने सुशिला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य रहेका छन् । त्यस्तै छायांकन वरिष्ठ छायाँकार दीपक बज्राचार्यले गरेका हुन्। पटकथा भट्टराईसहित अरुणदेव जोशी र देव व्रतको रहेकोमा सम्पादन निमेष श्रेष्ठले गरेका हुन्।

महोत्सवमा चलचित्र छनौट पछि प्रतिकृया दिँदै निर्देशक भट्टराईले भने– प्रतिष्ठित चलिचत्र महोत्वमा झिल्कोको छनौटले चलचित्रको महत्व झन् बढेको छ । आजको समयको समाजभित्र निकै गहिरो रूपमा प्रभाव पारिरहेको विषयमा बनेको चलचित्र विश्व समक्ष पुग्ने अवसर महोत्सवबाट जुटेको छ ।


ताजा समाचार