स्वीकृति नलिएका पाठ्पुयस्तक प्रयोगमा रोक लगाउन केन्द्रकाे निर्देशन

काेहलपुर, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्वीकृति नलिएका पुस्तकहरू प्रयोगमा राेक लगाउन निर्देशन दिएको  छ ।
केन्द्रले नेपाल सरकारले स्वीकृत गरेको पाठ्यक्रमअनुसार विकास भई स्वीकृति प्राप्त गरेका पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्र विद्यालयमा प्रयोग गर्नुपर्ने स्पष्ट पारेको छ। पाठ्यपुस्तकको पृष्ठ संख्या र मूल्य समेत केन्द्रले तोकेको मापदण्डअनुसार हुनुपर्ने उल्लेख गरिएको छ।
सूचनामा केही स्थानमा स्वीकृति नलिएका पुस्तकहरू प्रयोगमा ल्याउने, गुणस्तरहीन पाठ्यसामग्री बिक्री वितरण गर्ने तथा बढी मूल्य असुल्ने जस्ता गतिविधि देखिएको जनाउँदै त्यस्ता कार्यहरू तत्काल रोक्न कडाइ गर्न भनिएको छ।
त्यस्तै, विद्यालयहरूले पोशाक, पाठ्यपुस्तक तथा स्टेशनरी सामग्री बिक्री वितरण गर्ने जस्ता कार्यहरू भए/नभएको समेत अनुगमन गर्न निर्देशन दिइएको छ। यस्ता गतिविधि नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गरी आवश्यक कारबाही गर्न र त्यससम्बन्धी जानकारी केन्द्रमा पठाउन पनि आग्रह गरिएको छ।
केन्द्रले नियम विपरीत कार्य गरी विद्यार्थी तथा अभिभावकमाथि अतिरिक्त आर्थिक भार पार्ने प्रवृत्ति नियन्त्रण गर्न सबै सरोकारवालालाई सचेत र जिम्मेवार हुन समेत आग्रह गरेको छ।


ताजा समाचार