विद्यालयमा उत्तर घोकाउने कि, प्रश्न गर्न सिकाउने

 

कर्णालीको लम्बाई कति छ ? जवाफ दुरुस्तै चाहियो । कोतपर्व कहिले भयो ? जवाफ हु-बहु चाहियो । मानव शरीरको सबैभन्दा ठूलो अंग कुन हो ? जवाफ ठ्याक्कै चाहियो ।

विद्यालयमा पुगेपछि कलिला बालबालिकाको दिमागमा यस्तै उत्तरहरु संग्रहित गराइन्छ । उनीहरुलाई फटाफट उत्तर घोकाइन्छ । त्यस्ता उत्तर जति धेरै संकलन र संग्रह गर्न सकिन्छ, उत्तिनै ‘जान्ने/बुझ्ने’ भइन्छ ।

तपाईंको बच्चालाई सोध्नुहोस्, ‘कम्प्युटर के हो ?’

बच्चाले एक झिमिक आँखा बन्द नगरी जवाफ दिन्छ । तर, यो प्रश्न तपाईंले अंग्रेजीमा नै सोध्नुपर्छ । किनभने नेपालीमा यसको जवाफ घोकेका छैनन् । अंग्रेजीमा उनीहरुले घोकेका छन्, ‘कम्प्युटर इज अ मेन मेड मशिन ।’

अर्थात कम्प्युटर एक मानव निर्मित उपकरण हो । कति अस्पष्ट, कति अमूर्त, कति द्विविधाग्रस्त जवाफ । परीक्षामा उनीहरुले ठ्याक्कै यही उत्तर लेखे मात्र उत्तिर्ण अंक प्राप्त हुन्छ । नभए उनीहरु फेल हुन्छन् । कमजोर विद्यार्थीमा दरिन्छन् ।

कम्प्युटर के हो ? भन्ने प्रश्नको इमान्दार उत्तर ‘यो मानव निर्मित उपकरण हो’ भन्ने नै हो त ? यसबाट बच्चाले कम्प्युटरलाई कसरी बुझ्छन् ? कम्प्युटरको आयम र उपयोगितालाई उनीहरुले कसरी अनुभूत गर्छन् ?

संसारमा भएका ति भौतिक उपकरणहरु ‘मेन मेड’ अर्थात मानव निर्मित नै हुन् नि । टेलिफोन, टेलिभिजन सबै मानव निर्मित उपकरण नै हुन् । तर, बच्चाको कलिलो दिमागमा के घुसाइन्छ भने कम्प्युटर चाहि मानव निर्मित उपकरण हो ।

हाम्रा बालबालिकाले विद्यालयमा घोक्ने अधिकांश उत्तरहरु यस्तै छन् । कक्षा चारको नेपाली पुस्तकमा ‘गाई’ शिर्षकको निबन्ध छ । त्यसमा लेखिएको छ, ‘गाईको दुई वटा कान हुन्छ । चार वटा खुट्टा ।’ बच्चालाई जब प्रश्न गरिन्छ, गाई कस्तो हुन्छ ?

उसले गाईको पाठ भएको पृष्ट सम्झन्छ । त्यसमा लेखिएका अक्षरहरु सम्झन्छ । अनि भन्नेछन्, ‘गाईको दुई वटा कान हुन्छ, चार वटा खुट्टा ।’

उत्तर घोकाउने प्रणाली

यस किसिमको अस्पष्ट उत्तरहरु बच्चाको कलिलो दिमागमा संग्रहित गराइन्छ । जब उनीहरुलाई परीक्षा हलमा राखिन्छ, तब फटाफट ति उत्तरहरु लेख्नुपर्ने हुन्छ । परीक्षा नै विद्यार्थीको बौद्धिक क्षमता मापन गर्ने विद्यमान प्रणालीले उत्तरलाई महत्व दिन्छ । हरेक प्रश्नको उत्तर दुरुस्त मिलाउन सक्ने ‘अब्बल’, ‘उत्कृष्ट’, ‘मेधावी’ ठहरिन्छन् ।

बच्चालाई किन यसरी उत्तरमुखी बनाइदैछ ? यसको एकमात्र जवाफ छैन । खासमा त हाम्रो शिक्षा प्रणाली नै उत्तरमुखी छ । हाम्रो शिक्षाले जहिले पनि उत्तर खोज्छ । हरेक प्रश्नको दुरुस्त हल खोज्छ । जवाफ खोज्छ ।

यदि मानव समुदायसँग प्रश्नहरु थिएनन् भने आजको विश्व यति गतिशिल हुने नै थिएनन् । हामी अझै ढुंगे युगमै रमाइरहेका हुन्थ्यौ ।
अभिभावकको लहड पनि यसमा मिसिएको छ । अभिभावकहरु चाहन्छन् कि, आफ्ना छोराछोरीले हरेक कुराको फटाफट उत्तर भन्न सकोस् । जे सोधिन्छ, त्यसको फ्याट्टै जवाफ प्राप्त होस् ।

यसमा विद्यालय संचालकको स्वार्थ पनि घुलिएको हुन्छ । जब बच्चाले परीक्षामा राम्रो अंक प्राप्त गर्छ, तब विद्यालयले त्यसबाट आफ्नो ब्रान्ड भ्यालु जोगाउने वा बढाउने काम गर्छ । अभिभावकको आकंक्षा पनि पुरा हुन्छ ।

खै त प्रश्न ?

हुनुपर्ने त के भने बच्चाले उत्तर होइन, प्रश्न गर्नुपर्ने हो । हाम्रो शिक्षा प्रणालीले बच्चाको मस्तिष्कमा उत्तरको भण्डारण गराउनु होइन, बरु जिज्ञासा एवं उत्सुकता जगाइदिनुपर्ने हो । बच्चाको उत्सुकता एवं जिज्ञासा कसरी मेट्ने भनेर बाटो पहिल्याउन सिकाउनुपर्ने हो विद्यालयले । तर, हाम्रो शिक्षा प्रणाली एकदमै हतारमा छ । चटारोमा छ । शिक्षा प्रणालीले बच्चामा उत्सुकता जगाइदिदैन, सोझै उत्तर घोकाउँछ ।

बच्चामा गाई भनेको के हो भन्ने जिज्ञासा पैदा हुन नदिई गाई भनेको चौपाय हो । चार खुट्टे जनवार हो । दुध दिन्छ । भनेर सिकाइन्छ । दुध कसरी दिन्छ ? गाईको शरीरको रचना कस्तो हुन्छ, जसले घाँस चपाएर अमृत समान दुध दिन्छ ? यस्तो प्रश्नहरु हाम्रो शिक्षामा कहिल्यै आउँदैन ।

कम्प्युटरले कसरी काम गर्छ ? मान्छेले बनाएको कम्प्युटरले मान्छेलाई नै कसरी माथ दिन्छ ? त्यसको यान्त्रिक व्यवस्थापन कसरी भएको हुन्छ ? हाम्रो शिक्षाले न यस्तो प्रश्नहरु पैदा गरिदिन्छ, न यि प्रश्नहरुको चित्तबुझ्दो जवाफ दिन्छ । कम्प्युटर भनेको मानव निर्मित यन्त्र हो भनेपछि हाम्रो शिक्षाको एउटा च्याप्टर सम्पन्न हुन्छ । पुरा हुन्छ । यति जानेपछि विद्यार्थी पास । उत्कृष्ट ।

उत्सुकता मारिदिएपछि

तपाईंले शहरका राम्रो विद्यालयमा छोराछोरी पढाउनुभएको छ । शिक्षकका अनुसार उनीहरु तगडा छन् । जान्ने छन् । परीक्षामा राम्रो नतिजा लिइरहेका छन् । तर, उनीसँग प्रश्न छैन । उनीसँग उत्तरहरु छन् । त्यही उत्तरकै कारण उनले विद्यालयमा राम्रो नतिजा हासिल गरिरहेका छन् ।

स्याउ किन भूँईतिर र्झछ भनेर प्रश्न नउठेको भए पृथ्वीको गुरुत्वबलबारे थाहा हुन्थ्यो वा हुँदैनथ्यो ? चरा किन उड्छ भन्ने प्रश्न नउब्जिएको भए हवाइजहाजको आविष्कार हुन्थ्यो वा हुँदैनथ्यो ? मान्छेलाई किन दुःख छ भन्ने प्रश्न पैदा नभएको भए बुद्ध दर्शनको रचना हुन्थ्यो वा हुँदैनथ्यो ?
तपाईंको बच्चाले घर बाहिर भुर्र भँगेरा उडेको देख्छ । तर, त्यहाँ उनको प्रश्न हुँदैन । उसले भँगेरा भनेको चरा हो भनेर जानिसकेको छ । भँगेरा किन उठ्छ भन्ने प्रश्न उनको मनमा पैदा नै हुँदैन ।

माछा किन उड्दैन ? तपाईंको बच्चाले कहिल्यै सोध्दैनन् । बादल किन रंगबिरंगी छै्रनन् ? तपाईंको बच्चामा कहिल्यै जिज्ञासा उठ्दैन । सुन्तलाको बोटमा किन कागति फल्दैन ? तपाईंको बच्चामा कहिल्यै कौतुहलता जाग्दैन ।

किन ?

किनभने उनीहरुलाई रेडिमेड जवाफ घोकाइसकेका छौ । त्यही कारण उनीहरुको कौतुहलता, उत्सुकता मरिसकेको छ । प्रश्न निथि्रएको छ । जबकी विश्व आज जुन अवस्थामा छ, विश्वले आज आध्यात्मिक/भौतिक छलाङ मारेको छ, त्यसको पछाडि एउटै कारण थियो, जिज्ञासा । उत्सुकता । प्रश्न ।

स्याउ किन भूँईतिर र्झछ भनेर प्रश्न नउठेको भए पृथ्वीको गुरुत्वबलबारे थाहा हुन्थ्यो वा हुँदैनथ्यो ? चरा किन उड्छ भन्ने प्रश्न नउब्जिएको भए हवाइजहाजको आविष्कार हुन्थ्यो वा हुँदैनथ्यो ? मान्छेलाई किन दुःख छ भन्ने प्रश्न पैदा नभएको भए बुद्ध दर्शनको रचना हुन्थ्यो वा हुँदैनथ्यो ?

यदि मानव समुदायसँग प्रश्नहरु थिएनन् भने आजको विश्व यति गतिशिल हुने नै थिएनन् । हामी अझै ढुंगे युगमै रमाइरहेका हुन्थ्यौ ।

अनलाइन खवर बाट साभार

सम्बन्धित समाचार