‘ बर्तमान सरकार पूरा अबधी चल्छ’- प्रचण्ड
काेहलपुर , फाल्गुन ४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्तमान सरकार पूरा अबधी चल्ने बताएका छन ।बाँकेको कोहलपुरमा आइतबार पार्टीकाे प्रदेश ५ स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्
अध्यक्ष प्रचण्डले भने ‘एकताको भावनाको लागि भनेर त्यतिबेला आलोपालो प्रधानमन्त्री चलाउने भन्ने कुरा गरेका पनि थियौँ ‘ अध्यक्ष दहालले आलोपालोले पनि जनतामा भ्रम हुने देखिएपछि आलोपालो पनि पनि छाेडेकाे दावी गरे। पाँचवर्ष यहि सरकार जाने पार्टी र सरकार दुईटैलाई प्रभावकारी बनाउन अाफुहरु लागि परेकाे उनकाे भनाई थियाे।

‘प्रधानमन्त्री हुनको लागि अथवा पद प्रतिष्ठा केही प्राप्त गर्ने उद्देश्यको लागि पार्टी एकता गरिएको थियो कि भन्ने कुरा बिल्कुल सत्य होईन, यसमा कोही भ्रममा नपर्नुहोला ।,’अध्यक्ष दाहालले भने,‘धेरै कुराको बिचार गरेर पार्टी एकता भएको हो, नेपाली जनताको आवश्यकतालाई सम्वोधन गर्दै नेपाली कम्यूनिष्ट आन्दोलनको भविष्य सुदृढ गर्न र समृद्धि र समाजवादको मार्ग तय गर्नको लागि पार्टी एकता गरिएको हो ।’
दुई ठूला पार्टी एकता गर्ने कुरा सजिलो नभएको उल्लेख गर्दै उनले तीन महीनामा टुङ्ग्याउने भनिएको पार्टी एकताको काम सक्न दुईवर्ष लागेको बताए । दुई पार्टी मिलेकोले विभिन्न मतभेद हुनु स्वभाविक भए पनि धैर्यतका साथ एकताको कामलाई पार लगाउदै स्थानीय तहसम्मनै पार्टी एकता गरी जनतामा सकारात्मक सन्देश दिन सफल भएको उनको दावी थियाे ।
अधिकांश समय तत्कालीन माओवादी र एमालेबीचको पार्टी एकताका विषयमा समय खर्चेका अध्यक्ष प्रचण्डले ०६३ सालमै फुलवारी बैठकमा माओवादीले देशमा धेरै कम्युनिष्ट धार हुनुहुँदैन भन्दै एक कम्युनिष्ट पार्टी बनाउन पार्टी एकीकरणको निर्णय गरेको स्मरण गरे । उनले भने, ‘एमालेसँग एकीकरणबारे धेरैलाई सिलगुडी र रोल्पाको छलफलबारे मात्रै थाहा होला । यस्ता बैठक दर्जनौं पटक भएर पार्टी एकता सम्भव भएको हो । त्यसैले यो एकता धेरै मजबुत छ । यो एकतालाई देश र जनताबीच भावनात्मक रुपमा बलियो बनाउनु पर्छ ।’
पहिलो संविधानसभादेखिका पार्टी एकता प्रक्रियामा कुन दल ठूलो र कस्को हिस्सा ठूलो भन्ने भागवण्डा नमिल्दा सम्भव नभएको पनि उनले सम्झे । उनले प्रदेश ५ का जनता देशमै सबैभन्दा बढी परिवर्तन पक्षधर र अग्रगामी भएको दाबी गर्दै जनयुद्ध र जनआन्दोलनमा पनि यहीका जनताको सबैभन्दा धेरै योगदान गरेको चर्चा गरे ।
उनले एमसीसीबारे पार्टीले कार्यदल बनाएर अध्ययन गरिरहेकाले कार्यदलले दिएको प्रतिवेदनका आधारमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । देश हित विपरित काम पार्टीबाट नहुने भन्दै कार्यकर्तालाई आश्वास्त पारेका थिए ।
नेकपा प्रदेश ५ का अध्यक्ष ओनसरी घर्तीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा प्रदेश ५ का इन्चार्ज तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताले पार्टी एकताबारे धारणा राखेका थिए । प्रशिक्षण कार्यक्रममा प्रदेश ५ का १२ जिल्लाका नेकपाका तीन हजारभन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहेको थियो




