एउटा मिठो भ्रम…!!!

रविबाबू प्रतीक्षा

न हिजो कोही आफ्नो थियो
न आज कोही आफ्नो लाग्छ
आफ्नो भन्ने त फगत मीठो भ्रम रहेछ ।

एका बिहानै
“के छ खबर सन्चै छौ?” भन्दा आफ्नो लाग्थ्यो ।
“खाना खायौ त? के छ त आजको प्लान?”
बोझिलो शरीर अनि दुखेको मनलाई
त्यसै त्यसै मलहम जस्ता लाग्ने यी सामान्य वाक्यहरू ।

“मेरो याद आउदैन र तिमीलाई ?
के सारो भुल्न सकेको मलाई त !”
नसुनेका पनि हैनन्, नदेखेका पनि हैनन्,
तमसुकमा लेखिएका अक्षर जस्ता साक्षी बसेका शब्दहरू
न पैंचो जस्ता अनि न ऋण जस्ता भए
न तिर्न सकिने न भुल्न सकिने
यादहरूको चक्रीय ब्याजले थिचिरहेको ऋणीजस्तो विचरा मुटु ।

टाढिंदा पनि नछुटिने मनहरू
हिंड्दै म्यासेज गर्दा टाउको ठोकिएको पोल
बोल्दै गर्दा बेसुरमा धक्का लागेका मान्छेहरू
गिज्याउँदै गलल्ल हाँस्दा हुन् अब त
नौलो विद्यालय नयाँ कक्षामा पहिलो दिनको विद्यार्थी जस्तो
न हार्न सकिने न आँशु झार्न सकिने अवस्था ।

जबसम्म अरुको हुन्छ, तबसम्म मात्र आफ्नो हुन्छ मुटु
जबसम्म अरुलाई चिन्छ, तबसम्म आफ्नो हुन्छ नजर
जबसम्म अरुमैं जिउँछ नि तबसम्म मात्र आफ्नो हुन्छ जीवन
आफ्नो न हिजो कोही थियो न आज कोही छ
आफ्नो भन्नु त फगत मिठो भ्रम रहेछ ।

मिति २०८०/११/१० गते रात्रि ११:२० बजे ।

सम्बन्धित समाचार