कपल च्यालेन्ज भनेको के हो ?
अनन्त कुमार पाैड्याल
कपल च्यालेन्ज सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । कपल च्यालेन्ज भनेको फोटो हाल्ने होड होइन । यो फ्रेन्ड एन्ड फेमिलसँग ठट्टा रमाइलो गरी खेलिने एउटा भर्च्युअल खेल हो । यसबाट विवाहित जोडीहरु बीचमा हुने संवेगात्मक तथा मनोवैज्ञानिक अन्तर्क्रियाहरुको परीक्षण हुन्छ । यसका साथै रमाइला र हाँस उठदा क्षणहरु पनि अनुभूत गराउँछ । मनमा रहेका आपसी खुलदुली र रहस्यहरुलाई उजागर गर्न कपल च्यालेन्ज एउटा राम्रो मनोसामाजिक टुलका रुपमा पनि उपयोग गर्न सकिन्छ । यसबाट पारिवारिक आत्ममूल्याङ्कन गर्ने अवसर पनि प्राप्त हुन्छ ।
यो खेल खेल्नका लागि एक परिवारको जोडी र अर्को एक जना प्रश्नकर्ता चाहिन्छ । भिडियो खिच्ने अर्कै व्यक्ति राखे पनि हुन्छ । जोडीले आँखा चिम्म गरेर सँगै छेउमा बस्नु पर्छ । अर्को एक जना व्यक्तिले पारिवारिक महत्वका रमाइला प्रश्नहरु गर्दै भिडियो रेकर्ड गर्छन् । पछि भिडियो हेरेर दुवै जना रमाइलो गर्छन् ।
भिडियो खिच्नेले प्रश्नहरु सोद्धै जान्छन् । आँखा चिम्म गरेर बसेका जोडीले एक अर्कालाई औँलाले देखाएर उत्तर दिन्छन् । पछि यही भिडियो सामाजिक सञ्चालमा पोस्ट गरिन्छ । जस्तै : तपाइहरुमध्ये को बढी रोमान्टिक ? जोडीले आँखा चिम्म गरेर एक अर्कालाई औँलाले देखाउँछन् तर बोलेर उत्तर दिँदैनन् । कपल च्यालेन्ज गर्न अरु केही प्रश्नहरु यस प्रकार हुन सक्छन्: पैसा बढी कसले खर्च गर्छ? झगडा गरेर बोलचाल बन्द भएपछि कसले पहिले बोल्न शूरू गर्छ ? को बढी जिद्दी गर्छ ? कुरा नमिल्दा को छिटो रिसाउँछ? बाहिर घुम्न जाने प्रस्ताव कसले बढी गर्छ ? आदि । अब तपाईँहरु पनि खेल्नुहोस् है त । स्रोत: रिपब्लिक वर्ल्ड डट कम ।