शिक्षामन्त्रीलाई चिठी

ऋषि शर्मा

माननीय मन्त्री ज्यु नमस्कार !

लकडाउनको पुर्ण पालना गरेकोले अहिले सम्म आराम छु र हजुर पनि आराम नै हुनुहुन्छ भन्ने आशामा छु ।

मन्त्रीज्युलाई पत्र लेखेर केही जिज्ञासा राख्ने चाहना त शिक्षामन्त्रीको पदभार ग्रहण गरेदेखि नै लागेको थियो ।मन्त्री ज्यु प्रति मेरो अलि बढी नै भरोसा थियो । त्यसैले तत्काल पत्रलेख्ने कुरा स्थागित गरेको थिए । तर जिज्ञासाहरु घट्नुको सट्टा बढ्दै गए । त्यसैले केही जिज्ञासा सहितको प्रत्र लेख्दै छु । थाहा छैन यो हजुर समक्ष पुग्छ पुग्दैन तर मेरो लेख्ने कर्तव्य हो भन्ने लागेर पत्र लेख्दै छु ।पत्र लेख्नुको विशेष कारण त हजुरलाई केही नलाग्न सक्छ तर भर्खरै आएको बजेट भाषण सुनेपछि मेरो सानो दिमागमा उठेका थुप्रै जिज्ञासाले रातभर निदाउन सकिन । यो पत्र लेख्न बाध्य भएको छु।

माननिय मन्त्रीज्यु, हिजो तपाईका क्याबिनेटका अर्थमन्त्री ज्युको कोभिड १९ ले सृजित समस्या समाधान को लागि विशेष महत्त्वका साथ ल्याइएको बजेट ध्यान दिएरै सुने ।शिक्षाको बजेटको प्रतिशत ( ११.६४)का हिसाबले गत बर्षहरु जस्तै रहेको छ ।बजेटमा खासै उत्साहजनक कार्यक्रम केही देखिएनन्।शिक्षा ऐन २०२८ को आठौं संशोधनले प्रारम्भिक बाल बिकास लाई विद्यालय संरचनामा ल्याइसकेको मन्त्री ज्युलाई जानकारी भएन जस्तो लाग्यो । बालबिकास कक्षाका शिक्षकहरुलाई यो चरम महङ्गीमा महिनाभरी परिश्रम गरेर ६ हजार रुपैयाँ बुझ्नु पर्ने कुराको बारेमा हजुरलाई अनविज्ञता छ र ? नोकरी प्रवेशको समय उमेर सकिएर पेशाको स्थायीत्वको विषयमा समस्यामा रहेका राहत तथा उमावि अनुदान शिक्षकका बारेमा तपाईं बेखवर भएकै हो त ? कि जानी जानी झोले कार्यकर्ता बनाउन खोज्नु भएको हो ? विहान१० बजे अगावै विद्यालय परिसरको सरसफाइ सुरु गरेर बेलुकी ४ बजे पछि सामग्री ब्यबस्थित गरि दैनिक पसिना बगाउने कर्मचारी को तलब कति छ हजुर लाई थाह छ ? तल्लो तहका कर्मचारी को अभिभावक को भुमिका तपाइले खेल्नु हुन्छ कि भन्ने आशा थियो तर भएको देखिएन । म एउटा शिक्षक भएको नाताले हरेक दिन विद्यालयको कार्यालय सहयोगीसँग भेट हुन्छ । यो वर्षको बजेटमा उनको नियमित आउने मासिक रु. ४५०० मा ठुलो हेरफेर हुने आशा थियो उनलाई । दिनभर पसिना बगाउने विद्यालय कर्मचारीलाई बजेटले समेट्नु पर्दैन ? मासिक ४५०० रुपैयाँले उस्को घर कसरी चलेको होला ? हुनत मन्त्री ज्युलाई यति साना तिना कुरा सोच्ने फुर्सद नभएको पनि हुन सक्छ ।

मन्त्रीज्यु, शिक्षक सेवा आयोगबाट शिक्षक भर्नालाई व्यवस्थित गरी शिक्षकमा देखिएका प्रकारजन्य समस्या समाधान गर्ने कुराको बर्खिलाफमा स्वयंसेवक सेवक शिक्षक भर्ती गरि शैक्षिक जगत हसाउने सुझाव कस्ले दिन्छ मन्त्रीज्यु हजुरलाई ? निजि विद्यालयले सामुदायिक विद्यालयको गुणस्तरको जिम्मा लिनु पर्ने कुरामा म अलमलमा परेको छु । कार्यक्रमको उद्देश्य जस्तोसुकै भएपनि शब्द चयनका हिसाबले मजाक हुने गरि आएको छ । निजि शैक्षिक संस्थाले आफ्नो मुनाफाको निश्चित प्रतिशत सामुदायिक विद्यालयलाई सहयोग गर्नुपर्ने भनेको भए हुने थिएन र ? यो गुणस्तरको जिम्मेवारी कुरा भन्दा त सामुदायिक विद्यालयमा राज्यले गरेको लगानी र यसमा काम गर्ने सरकारी संयन्त्र फेल भए भनिदिनु भएको भए हुन्थ्यो नि ? ठूलो लगानी सरकारले गर्नुपर्ने तर गुणस्तरको जिम्मा भने निजिले लिइदिनु पर्ने ? केही सम्पन्न शहरका निजि विद्यालय बाहेक ग्रामीण भेगका माथिल्लो कक्षामा न्यून विद्यार्थीका कारण तङगृन नसकेका निजि विद्यालयले अर्को विद्यालयको गुणस्तरको जिम्मा लिने हैसियत राख्लान र ? बरु उनिहरुको निश्चित प्रतिशत रकम सहयोग हुने गरि सरकारी संयन्त्र लाई नै उत्तरदायी बनाएर गुणस्तर सुधारका कार्यक्रम कडाइकासाथ लागू गर्नपर्ने हैन र मन्त्री ज्यु ? कि तपाइहरुको कार्यशैलीको गुणस्तर मापनको जिम्मेवारी पनि कुनै ठूलो निजि कम्पनीलाई दिने तयारी त हुँदै छैन ?

माननीय मन्त्री ज्यु अब अलिकती प्रसंग ट्रेड युनियनतिर पनि जोड्न चाहन्छु ।एउटा मनमा सधै उठिरहने जिज्ञासा् के हो भने पेशागत विकासका लागि नेतृत्व लिएका केन्द्रिय ट्रेड कर्मीहरु स्थानीय तहमा आउदा खुबै सिंह झै गर्जिन्छ्न । यो गर्छौ, त्यो गर्छौ बालबिकास सहयोगि कार्यकर्ता, राहत दरबन्दीमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको विषयमा यस पटक नै समेटिन्छ भन्ने कुरा त नियमित झै भयो । तर उहाँहरुको महानवाणी हजुरको कार्यक्रममा कतै समेटिएको पाइएन।उहाँहरु तपाइँसम्म पुग्ने आँट गर्नु हुन्छ कि हुँदैन ? कि तपाइले उहाँहरुलाई टेर्नुहुन्न कि ? हामीसँग गर्ने र तपाईंसँग गर्ने कुराहरु कतै फरक त छैनन ? हामिलाई एक थरीका मात्र शिक्षक बनाउछौ भन्नू हुन्छ । तर स्वयंसेवक शिक्षकको थप्दा तपाइलाई ट्रेड युनियन कर्मीहरुको सुझाव नआएकै हो त ? आम शिक्षकले नेतृत्वलाई विश्वास गर्ने अवस्था गुमेकै हो त ? कि उहाँहरुले आफ्ना सुविधाका स्वार्थ पूरा गरेर हामीलाई टोपल्ने काम त गर्नुहुन्न ? यो पनि प्रष्ट हुन पाए आभारी हुनेथिए मन्त्री ज्यु।

विश्वविद्यालय तहको बजेट लाई केन्द्रीकृत गरि UGC लाई मात्र दिने कुरा बजेटमा आयो । यो के माथिल्लो तहका संस्थाहरुलाई autonomous चल्ने कुराको विपरीत त भएन र ? वा centralized decentralization मोडेल अवलम्बन गर्न खोजिएको हो कि ?

माननिय मन्त्री ज्यु ,तपाईं मन्त्री भए देखि अपेक्षा गरिएको संघीय शिक्षा ऐन किन आउदैन ? त्यसको तयारी कहाँ पुग्यो ? संघीय कानुन नआँउदा स्थानीय तहको कानुन निर्माणमा भएको कठिनाइ हजुरलाई बोध त होला नि हैन ? स्थानिय तह कार्यविधीले चलेका छ्न् ।थुप्रै स्थानिय तहले निर्माण गरेका कार्यविधी माथिल्लो कानुन विपरित भए भनेर अदालतमा समेत उजुरी परेका घट्ना यहाँ समक्ष पुगेका छ्नकि छैनन ? संघीय शिक्षा ऐन ल्याउन हजुरलाई कस कसले अप्ठ्यारो पारेका छन भन्दिनु हुन्छ कि ? तर ऐन ल्याउदा यो बजेट जसरी नआओस त्यहाँ बालबिकास , विद्यालय कर्मचारी लगायत सबै शिक्षकका समस्या समाधान हुने गरि ल्याउनुहोला। कि त्यो मस्यौदाको गुणस्तर सुधार पनि कसैको जिम्मा त लाउनु भएको त छैन ?

माननिय मन्त्री ज्यु, अहिलेको कोभिड महामारीमा आउने बजेटमा प्रत्येक विद्यार्थीलाई क्याबिन सिटिङ्गको ब्यबस्था मिलाउन बजेट बिनियोजन गरेको छु। विद्यालयमा मास्टर कन्ट्रोल रुम बाट शिक्षण गर्न मिल्ने गरि teaching lab को ब्यबस्था गर्न बजेट विनियोजन गरेको छु। भाषिक सीप शिक्षणका लागि प्रदेश स्तरमा नमुनाका रुपमा language lab स्थfपना गरिनेछ।देशभरी भर्चुअल कक्षा संचालनको सम्भाब्यता अध्ययन गरि पुर्वाधार निर्माणको काम अघि बढाइने छ। प्राबिधिक शिक्षा पढ्ने (९-१२) विद्यार्थीलाई सम्बन्धित क्षेत्रको प्रयोगात्मक अभ्यास गर्न दुई महिना सम्बन्धित क्षेत्रमा राख्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। सैद्धान्तिक विषय अध्ययन गर्ने विद्यार्थीको हकमा अनुसन्धानमा आधारित field trip गरि परियोजना कार्य सम्पन्न गर्न बजेट विनियोजन गरेको छु । ।प्रत्येक प्रदेशमा कम्तिमा एक/एक वटा हुने गरि संगीत ,कला,साहित्य ,खेलकुद एकेडेमी सहितको व्यवस्था भएका मेघा विद्यालय स्थापना गरिनेछ्न ।यी कुराहरु बजेटमा म मेरो जीवनमा सुन्न पाउछु कि पाउदिन मन्त्री ज्यु ? आदि इत्यादि जिज्ञासाले यो पत्र कोरेको छु । मलाइ आशा छ अन्यथा लिनु हुने छैन।विगतमा हजुरले सम्हालेका मन्त्रालयको कामबाट हौसिएका हामी जस्तालाई अहिले निराशामा धकेलेको छ ।अब यो निराशा आशामा परिवर्तन गर्नुहुन्छ ?

तपाइको कार्यक्रम कार्यान्वयन गर्ने तल्लो तहको विद्यालयको शिक्षक।

श्री त्रिभुवन नमुना मा.वि., कोहलपुर, बाँके ।


ताजा समाचार