काेहलपुरका संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि आवेदन खुल्ला
एविसन भट्टराई
कोहलपुर,कोहलपुर नगरपालिकाले नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति आवेदन खुला गरेको छ।
नगर शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार नगरपालिका अन्तर्गत सञ्चालित सबै संस्थागत विद्यालयहरू (निजी तथा सार्वजनिक गुठी समेत) मा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई प्रचलित कानून बमोजिम छात्रवृत्ति प्रदान गरिने भएको हो।
शाखाका अनुसार २०८३ साल जेठ १४ गतेदेखि असार १ गतेसम्म आवेदन दिन सकिनेछ। छात्रवृत्तिका लागि इच्छुक विद्यार्थी तथा अभिभावकहरूले आवश्यक कागजात सहित सम्बन्धित विद्यालयमै निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
विद्यालयबाट नै आवेदन फाराम उपलब्ध गराइने जनाइएको छ। साथै, आवेदन प्रक्रियालाई सहज बनाउन सूचनासँगै निवेदनको नमुना समेत सार्वजनिक गरिएको नगर शिक्षा शाखाले जनाएको छ।
नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।




