सुकुम्बासीमाथि भइरहेको दमनविरुद्ध एमाले वडा कमिटीकाे ज्ञापनपत्र
कोहलपुर । कोहलपुर नगरपालिका–१० का सुकुम्बासी तथा अव्यवस्थित बसोबासीकाे घरटहरा हटाउने कार्यको विरोध गर्दै नेकपा (एमाले) काेहलपुर नगरपालिका वडा नं. १० वडा कमिटीले १० न वडा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा राज्यका निकायबाट सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि बल प्रयोग, घरटहरा हटाउने कार्य तथा मानवअधिकारविपरीत गतिविधि भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको छ।
वडा न १० का कार्यवाहक वडा अध्यक्ष श्यामलाल थारुलाई बुझाइएको ज्ञापनपत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई उचित व्यवस्थापन र विकल्पबिना विस्थापित गर्नु अमानवीय र संविधानले सुनिश्चित गरेको नागरिक अधिकारविपरीत भएको उल्लेख गरिएको छ।
नेकपा (एमाले) काेहलपुर नगरपालिका वडा न १०, वडा कमिटीले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको दमन, आतंक र बल प्रयोग तत्काल बन्द गर्न तथा घरटहरा हटाउने कार्य रोक्न माग गरेको छ। साथै निस्सा वितरण गरिएका नागरिकलाई लालपुर्जा वितरण गर्न र दीर्घकालीन समाधानका लागि उचित व्यवस्थापन गर्न वडा कार्यालयसँग माग गरेकाे छ।
ज्ञापनपत्रमा जबर्जस्ती डोजर चलाएर उठिबास गराउने प्रयास भए प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ।
उक्त कार्यक्रममा नेकपा (एमाले) वडा नं. १० का इन्चार्ज सूर्य राेकाया, वडा कमिटीका अध्यक्ष मेकर बहादुर रोकाय , एमाले नेता दिपक अर्याल, पुरुषाेत्तम गिरी लगाएतकाे उपस्थिति रहेकाे थियाे।




