भारतीय गायिका आशा भेसलेकाे निधन
काेहलपुर। चर्चित भारतीय पार्श्वगायिका आशा भोसले को ९२ वर्षको उमेरमा निधन भएको छ।

उहाँको आइतबार मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको हो। अत्यधिक थकान र छातीसम्बन्धी संक्रमणका कारण अस्पताल भर्ना गरिएकी भोसलेको बहुअङ्ग असफलताका कारण मृत्यु भएको बताइएको छ।
आशा भोसले भारतीय संगीत क्षेत्रकी एक अत्यन्त चर्चित तथा बहुआयामिक गायिका थिइन्। आठ दशकभन्दा लामो सांगीतिक यात्रामा उनले हजारौँ गीत गाएकी थिइन् र हिन्दीसहित विभिन्न भाषामा आफ्नो स्वर दिएका कारण विश्वभर चर्चित बनेकी थिइन्।
उनको निधनसँगै भारतीय संगीत क्षेत्रमा एउटा युगको अन्त्य भएको प्रतिक्रिया कलाकार तथा प्रशंसकहरूले दिएका छन्।
भोसलेको अन्त्येष्टि मुम्बईको शिवाजी पार्कमा राजकीय सम्मानका साथ सम्पन्न गरिने तयारी गरिएको बताइएकाे छ।




