एमालेले समानुपातिक सांसदहरूको नाम टुंग्यायो
काेहलपुर, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को सचिवालय बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीअन्तर्गत सांसदहरूको नामावली टुंगो लगाएको छ। पार्टीले संविधानअनुसारको समावेशी सिद्धान्तलाई आधार मानेर विभिन्न समुदाय, क्षेत्र र वर्गबाट १६ जनाको नाम चयन गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।
एमालेकाे आज बसेकाे सचिवालय बैठकले जनजाति समूहबाट ४ जना चयन भएका छन्। जसमा महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य रहेका छन्।
खस–आर्य समूहबाट ५ जना समेटिएका छन्। महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराल चयन हुँदा पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेल परेका छन्।
थारु समुदायबाट कृपाराम राणा चयन भएका छन् भने दलित समूहबाट विष्णुमाया वी.के. र नीता घटानी समावेश भएका छन्।
मधेसी समूहबाट महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव तथा पुरुषतर्फ चन्द्रेश्वर मण्डल चयन भएका छन्। मुस्लिम समुदायबाट साजिदा सिद्दीकीको नाम समावेश गरिएको छ।




