रास्वपा र बालेन शाहबीच “वृहद एकता” सहमतिमा हस्ताक्षर

काेहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच वृहद राजनीतिक एकतामा सहमति भएको छ। लामो समयदेखि चल्दै आएको राजनीतिक संवाद र वार्तापछि दुवै पक्षबीच सहमति जुटेको हो।
सहमति अनुसार सम्झौतामा आज बिहान ४ बजेर १५ मिनेटमा हस्ताक्षर भएको बताएको छ। सम्झौतापछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हस्ताक्षर गरिएको सम्झौता पत्रको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेका छन्। बालेनले व्यक्तिगत फेसबुक पेजमार्फत तस्बिर सार्वजनिक गरेसँगै राजनीतिक वृत्तमा विषयले तीव्र चर्चा पाएको छ।
देशमा बढ्दो कुशासन, भ्रष्टाचार, सेवा प्रवाहमा देखिएको कमजोरी र जनआकांक्षा सम्बोधनमा परम्परागत राजनीतिक दलहरू असफल हुँदै गएको पृष्ठभूमिमा वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको निष्कर्षसहित वार्ता अघि बढाइएको थियो। यही सन्दर्भमा रास्वपा नेतृत्व र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच केही समययता निरन्तर औपचारिक तथा अनौपचारिक वार्ता हुँदै आएको स्रोतको भनाइ छ।
वार्ताका क्रममा सुशासन, सामाजिक न्याय, भ्रष्टाचारविरुद्धको अभियान, संस्थागत सुधार तथा आर्थिक–सामाजिक रूपान्तरणका विषयमा दुवै पक्षबीच साझा धारणा बनेपछि एकताको सहमति सम्भव भएको जनाइएको छ। सहमति पत्रमा भ्रष्टाचार र कुशासनविरुद्ध भएका आन्दोलन तथा अभियानको अपनत्व लिँदै परिवर्तनका पक्षधर शक्ति र व्यक्तिहरूको उचित समायोजन गरिने उल्लेख छ।
सहमति अनुसार एकतापछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ। पार्टीको झण्डा, चुनाव चिह्न र मूल पहिचान यथावत राखिने उल्लेख गरिएको छ। रास्वपाका केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आसन्न संसदीय निर्वाचनमा दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा मेयर बालेन शाह रहने सहमति भएको दस्तावेजमा उल्लेख छ।
त्यसैगरी, पार्टी संगठनलाई थप सुदृढ र फराकिलो बनाउँदै युवा पुस्ता, अनुभवी प्रशासक तथा परिवर्तनका पक्षधर व्यक्तित्वलाई समेट्ने, योग्यता, समावेशिता र सार्वजनिक छविलाई नेतृत्व विकासको आधार बनाइने सहमति भएको छ।
सहमति सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा दर्ता गरिने तयारी भइरहेको जनाइएको छ। एकतासँगै रास्वपाले लोकतान्त्रिक सुशासन, समृद्धि र सामाजिक न्यायका मुद्दामा विश्वास गर्ने अन्य राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत एकजुट हुन आव्हान गरेको छ।
राति भएको सम्झौता र बिहानै सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि रास्वपा–बालेन एकता सहमतिले वैकल्पिक राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ।


ताजा समाचार