लुम्बिनी वाङ्मय प्रतिष्ठान बाँकेद्वारा तीन कृति विमोचन
बाँके, पुस १२ ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, बाँकेको आयोजनामा तीन वटा कविता सङ्ग्रहको लोकार्पण तथा समीक्षा गरिएको छ।
प्रतिष्ठान बाँकेका अध्यक्ष भरत बहादुर रानाभाटको ढुकढुकीमा देश, उपाध्यक्ष चन्द्रावती अधिकारीको चन्द्रार्घ्य र भूपेन्द्र सुवेदीको भूपेन्द्र सुवेदीका कविता गरी तीन कृतिको शनिबार विमोचन गरिएको हो। त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका पूर्व अध्यक्ष प्रमुख अतिथि प्रा. डा. कृष्ण प्रसाद घिमिरेले संयुक्त रूपमा कृतिहरू विमोचन गर्नुभयो।
समारोहमा विशिष्ट अतिथि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका पूर्व क्याम्पस प्रमुख प्रा. डा. गोपाल शर्मा अधिकारीले दुई वटा छन्द कविता सङ्ग्रह र एउटा गद्य कविता सङ्ग्रहले बाँकेको साहित्यमा नयाँ आयाम थपेको बताउनुभयो।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष भरत बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो। महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्यापक तथा समालोचक डा. राजकुमार थारूले ढुकढुकीमा देश कृतिको समीक्षा गर्नुभयो। त्यसैगरी बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक डा. पुष्कर रिजालले भूपेन्द्र सुवेदीका कविता कृतिको समीक्षा गर्नुभएको थियो।
प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सचिव तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्यापक डा. हरि तिमिल्सिनाले चन्द्रार्घ्य सहित तीनै कृतिको समीक्षा गर्दै कृतिहरूमा देशप्रेम, युगीन चेतना, समाजसुधार, भ्रष्टाचारको विरोध तथा आशावादी जीवनदृष्टिकोण अभिव्यक्त भएको उल्लेख गर्नुभयो।
प्रमुख अतिथि प्रा. डा. घिमिरेले एकै साथ तीन कृति सार्वजनिक हुनु बाँकेको साहित्यिक उर्वरताको प्रमाण भएको बताउनुभयो।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ महानन्द ढकाल र शशिराम कार्की, साहित्यकार नरेन्द्र जङ पिटर, खगेन्द्र कोपिला तथा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीम बहादुर रानाभाटलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव करिस्मा योगीले गर्नुभएको थियो भने उपाध्यक्ष चन्द्रावती अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।




