माघ महिनाभित्र एसईई परीक्षा केन्द्र कायम गर्न बोर्डको निर्देशन

बिनाेद भट्टराई

काेहलपुर । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि माघ महिनाभित्रै परीक्षा केन्द्र निर्धारण गर्न निर्देशन दिएको छ।
बाेर्डले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै माघ ससान्तसम्म केन्द्र निर्धारण गर्न निर्देशन दिएकाे हाे ।
विगतका वर्षमा परीक्षा केन्द्र व्यवस्थापनमा देखिएका कमजोरी, परीक्षा सञ्चालनमा देखिएको अव्यवस्था तथा नतिजा प्रकाशनमा उत्पन्न समस्यालाई मध्यनजर गर्दै यस वर्ष परीक्षा केन्द्र निर्धारणमा थप कडाइ गर्न लागिएको बोर्डले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईई सञ्चालन तथा व्यवस्थापन निर्देशिका (संशोधनसहित) २०६८ लाई कडाइका साथ कार्यान्वयन गर्दै परीक्षा केन्द्र तोक्नुपर्नेछ। सोहीअनुसार शिक्षा विकास तथा समन्वय इकाइले माघ महिनाभित्र परीक्षा केन्द्र कायम गरी फागुनको पहिलो हप्ताभित्र केन्द्र विवरण परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्नेछ।
निर्देशनअनुसार हिमाली क्षेत्रमा न्यूनतम १५०, पहाडी क्षेत्रमा २५० तथा तराई, भित्री मधेस र उपत्यकामा कम्तीमा ३०० र बढीमा ४०० परीक्षार्थी रहने गरी परीक्षा केन्द्र निर्धारण गर्नुपर्नेछ। परीक्षार्थी संख्या कम भए पनि प्रत्येक जिल्लामा कम्तीमा एउटा परीक्षा केन्द्र अनिवार्य रूपमा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, परीक्षा प्रणालीमा निष्पक्षता र पारदर्शिता कायम गर्न ‘होम सेन्टर’ प्रणाली पूर्ण रूपमा निषेध गरिएको छ। आफ्नै विद्यालयका विद्यार्थीले आफ्नै विद्यालयमा परीक्षा दिन नपाउने व्यवस्था लागू गरिएको बोर्डले जनाएको छ। एउटै केन्द्रमा कम्तीमा दुई वा सोभन्दा बढी विद्यालयका विद्यार्थी सहभागी गराउनुपर्नेछ। यद्यपि, एउटै परीक्षा केन्द्र मात्र हुने जिल्लामा होम सेन्टर कायम गर्न बाधा नपर्ने स्पष्ट गरिएको छ।
तराई, भित्री मधेस तथा शहरी क्षेत्रमा सम्भव भएसम्म एउटै विद्यालयलाई हरेक वर्ष परीक्षा केन्द्र नबनाउने नीति अवलम्बन गरिने भएको छ। यसले परीक्षा केन्द्रमा हुने सम्भावित अनियमितता नियन्त्रण गर्न सहयोग पुग्ने बोर्डको विश्वास छ।
बोर्डले प्राविधिक धारतर्फ अध्ययनरत परीक्षार्थीका लागि छुट्टै परीक्षा केन्द्र कायम गर्ने व्यवस्था पनि गरेको छ। परीक्षार्थी संख्याका आधारमा प्रत्येक जिल्लामा उपयुक्त स्थानमा एक वा सोभन्दा बढी केन्द्र तोक्न सकिनेछ।
त्यस्तै, अपाङ्गता (विशेष क्षमता) भएका परीक्षार्थीहरूका लागि नजिकको परीक्षा केन्द्रबाट परीक्षा दिन सक्ने गरी आवश्यक व्यवस्थापन मिलाइनेछ। उनीहरूको उत्तरपुस्तिका छुट्टै प्याकेट बनाई शिक्षा विकास तथा समन्वय इकाइमार्फत पठाइने व्यवस्था गरिएको छ।
परीक्षा नियन्त्रण कार्यालयले समयमै परीक्षा केन्द्र निर्धारण गरी केन्द्र व्यवस्थापनलाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन सबै सम्बन्धित निकायलाई निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।


ताजा समाचार