गोरखा युनाइटेड र ग्रिनपिसलाई तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्डकाे उपाधि
कोहलपुर । प्याब्सन कोहलपुरद्वारा आयोजना गरिएको तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ चार दिनसम्म सञ्चालनपछि शनिबार सम्पन्न भएको छ । मंसिर १७ गतेदेखि सुरू भएको प्रतियोगितामा माध्यमिक र आधारभूत गरी तीन तहमा प्रतिस्पर्धा गरिएको थियो ।
माध्यमिक तह (कक्षा ९-१२)को समग्र रनिङ शिल्डमा ग्रीन पिस सेकेन्डरी स्कुल सर्वाधिक आठ स्वर्ण पदक जित्दै पहिलो बनेको छ । पाँच स्वर्णसहित गोरखा युनाइटेड पब्लिक स्कुल दोस्रो र दुई स्वर्णसहित डायनामिक सेकेन्डरी स्कुल तेस्रो स्थानमा रहे ।
आधारभूत तह (कक्षा १-८)को रनिङ शिल्डमा भने गोरखा युनाइटेड पब्लिक स्कूल दुई स्वर्ण, दुई रजत र दुई कास्य पदकसहित विजयी बन्न सफल भयो । दुई स्वर्ण, दुई रजत र एक कास्यसहित निम्बल एकेडेमी दोस्रो र दुई स्वर्ण, एक रजत तथा एक कास्यसहित जीवन ज्योति माध्यमिक विद्यालय तेस्रो स्थानमा परे ।
एथलेटिक्सतर्फ माध्यमिक तहमा पनि ग्रीन पिस सेकेन्डरी स्कूलले अब्बल स्थान हात पार्यो । गोरखा युनाइटेड पब्लिक स्कूल दोस्रो र डायनामिक सेकेन्डरी स्कुल तेस्रो भए । आधारभूत तहमा एथलेटिक्सतर्फ निम्बल एकेडेमी पहिलो, एभरेष्ट सैनिक स्कूल दोस्रो र जीवन ज्योति स्कुल तेस्रो बने ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा माध्यमिक तहमा गोरखा युनाइटेडका समीर बस्नेत (छात्र) र कल्पना बुढा (छात्रा) चयन भए । आधारभूत तहमा निम्बल एकेडेमीका कृष्णबहादुर बुढा र एभरेष्ट सैनिक स्कुलकी साधना थापा उत्कृष्ट घोषित भए । अनुशासित विद्यालयको सम्मान भने एभरेष्ट सैनिक स्कुलले प्राप्त गर्यो ।
प्रतियोगितामा कूल एक हजार ८३८ जनाले विभिन्न विधामा सहभागिता जनाएका थिए । माध्यमिक तहमा ५३२ जना एथलेटिक्स र ३४२ जना भलिबलमा, जबकि आधारभूत तह (१-८) मा ४४८ जना एथलेटिक्स र ३९० जना फुटसलमा सहभागी भएका थिए । नर्सरीदेखि कक्षा ३ सम्ममा समेत १२० जनाको सहभागिता थियो ।
समापन समारोहमा लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकाल सहितका अतिथिहरूले विजयी टोलीहरूलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।
आयोजक प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीको खेलकुद क्षेत्रमा सक्रियता र प्रतिभा विकास गर्न रहेको छ ।




