तेस्राे प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज समापन हुदै

 

कोहलपुर (बाँके)।
मंसिर १७ गतेदेखि सुरु भएको तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिता–२०८२ आज समापन हुँदैछ। कोहलपुर–११ स्थित न्युरोड खुला खेलमैदानमा जारी प्रतियोगितामा अधिकांश खेलहरु सम्पन्न भइसकेका छन् भने फुटसल तथा ४×१०० र ४×४०० मिटरका रिले दौडका फाइनल खेल आजै हुने सचिवालय संयोजक हेमकुमार रावतले जानकारी दिए।

प्रतियोगितामा माध्यमिक र आधारभूत तहका विभिन्न विधामा हजारौं विद्यार्थीबीच प्रतिस्पर्धा भएको छ। एथ्लेटिक्स, फुटसल, स्पुन मार्बल र म्युजिकल चेयरलगायतका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूको विजयी सूची क्रमशः सार्वजनिक भइरहेका छन्।

आधारभूत तह (१–८) अन्तर्गत १ सय, ४ सय र ८ सय मिटर दौडमा निम्बल एकेडेमी, गोरखा युनाइटेड, राम जानकी, ग्रीनपिस, जीवन ज्योति र गुरुकूल शिक्षा सदनका विद्यार्थीहरूले उत्कृष्ट स्थान हासिल गरे। माध्यमिक तह (९–१२) मा रोशन बुढाथोकी, सम्झना राना, विपिन बुढाथोकी, अनिमा चौधरी, निकिता हमाल र समिर बस्नेतलगायतका खेलाडीले विभिन्न दौड विधामा प्रथम स्थान सुरक्षित गरे।

नर्सरीदेखि कक्षा ३ सम्मका खेलतर्फ कोहलपुर पाठशाला, क्यानभास, नमुना शिक्षा सदन, मनकामना, ग्रीनपिस र भरोसा एकेडेमीका विद्यार्थी विजयी बने।

प्रतियोगितामा माध्यमिक तहबाट एथ्लेटिक्समा ५३२ र भलिबलमा ३४२ जना गरी ८७४ जनाको सहभागिता रहेको छ। आधारभूत तह (१–८) मा एथ्लेटिक्समा ४४८, फुटसलमा ३९० तथा नर्सरी–३ सम्म १२० जनासहित कुल ९६० जनाले सहभागिता जनाए। समग्रमा प्रतियोगितामा १ हजार ८ सय ३८ विद्यार्थी सहभागी भएका छन्।

फाइनल खेलहरू सम्पन्न भएपछि आजै प्रतियोगिता औपचारिक रूपमा समापन गरिने आयोजनाको भनाइ छ।


ताजा समाचार