तेस्रो ‘प्याब्सन कोहलपुर रनिङ्ग शिल्ड प्रतियोगिता’ मंसिर १७ देखि १९ गतेसम्म हुने
बिनाेद भट्टराई
कोहलपुर । बाँकेको कोहलपुरमा तेस्रो “प्याब्सन कोहलपुर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता” मंसिर १७ देखि १९ गतेसम्म आयोजना हुने भएको छ।

फिल्ड मार्सल दिनेश सिग्देलका अनुसार प्रतियोगिताको उद्घाटन मंशिर १७ गते बिहान ११ बजे लुम्बिनी प्रादेशिक विश्वविद्यालयका कुलपति प्रध्यापक विनोद प्रसाद ढकालको प्रमुख आतिथ्यतामा हुनेछ।
प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीका अनुसार माध्यमिक र आधारभूतस्तरका विद्यार्थीलाई लक्षित गर्दै छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा गराइनेछ। पूर्व–प्रावि तहका विद्यार्थीका लागि समेत विविध प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिएको छ।
उक्त प्रतियोगितामा माध्यमिक तहबाट १८ गोल्ड मेडल र आधारभूत तहबाट १२ गोल्ड मेडलका लागि जम्मा १ हजार ८ सय ३४ विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। खेलकुदले विद्यार्थीको पहिचान निर्माणमा महत्वपूर्ण योगदान गर्दै आएको अध्यक्ष केसीले बताए।
“किताबी ज्ञान मात्र पर्याप्त हुँदैन, खेलले पनि विद्यार्थीको क्षमता उजागर गर्छ,” केसीले भने, “यहाँबाट उत्पादन भएका धेरै खेलाडी अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइरहेका छन्।”
प्रतियोगिताबाट स्थानीयस्तरको खेलकुद विकासमा टेवा पुग्ने र विद्यार्थीको प्रतिभा अझ प्रस्टसँग निखारिने अपेक्षा गरिएको आयोजकले जनाएको छ।



