कोहलपुरमा तेस्रो ‘प्याब्सन रनिङ शिल्ड’ खेलकुद प्रतियोगिता सुरु, उपकुलपति ढकालद्वारा उद्घाटन

 

काेहलपुर ।
निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) कोहलपुरले आयोजना गरेको तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ।

उक्त प्रतियोगिताको लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकालले बुधबार उद्घाटन गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले खेलकुदले बालबालिकाको बौद्धिक, शारीरिक तथा सकारात्मक सोच विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

उनले लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेमा स्थापना हुनु जिल्लाको शैक्षिक रूपान्तरणमा नयाँ अध्याय भएको उल्लेख गर्दै लुम्बिनी, कर्णाली तथा विशेषगरी सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरूले यसको प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका परीक्षा नियन्त्रक जेन्टिल गौतम, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर कार्यालयका प्रमुख लक्ष्मीप्रसाद अधिकारी, कोहलपुर नगरपालिका–११ की अध्यक्ष कल्पना शर्मा लगायतले प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेका थिए।

बिहान बिधुतरोड चोकबाट प्रभातफेरी निकालेर प्रतियोगिताको औपचारिक सुरुवात गरिएको थियो।
काेहलपुर स्थित खुला मैदानमा संचालन भएकाे प्रतियोगितामा प्याब्सन कोहलपुर अन्तर्गतका २८ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ।

पहिलो दिन सम्पन्न एथलेटिक्सतर्फका विभिन्न प्रतिस्पर्धामा कुल ८० जना विद्यार्थी हिट राउन्डबाट छनोट भएका छन्।
फिल्ड मार्शल दिनेश सिग्देलका अनुसार माध्यमिक तह अन्तर्गत ४०० मिटर तथा १०० मिटर छात्र–छात्राको हिट सम्पन्न गरिएको छ। त्यस्तै आधारभूत तहमा १०० मिटर, ४०० मिटर तथा कक्षा २ र ३ का छात्र–छात्राको १०० मिटर प्रतिस्पर्धा पनि आजै सम्पन्न भएको जानकारी उनले दिए।


ताजा समाचार