अपिहिमाल गाउँपालिका पर्यटन विकासमा देशकै उत्कृष्ट घोषित

 

बझाङ — विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) का अवसरमा नेपाल सरकारले अपिहिमाल गाउँपालिकालाई देशभरका स्थानीय तहमध्ये पर्यटन विकासमा उत्कृष्ट पालिकाका रूपमा सम्मान गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिगो पर्यटन प्रवर्द्धन, प्रभावकारी योजना कार्यान्वयन तथा स्थानीय सहभागिताका आधारमा गाउँपालिकालाई उत्कृष्ट घोषित गरेको हो।

मन्त्रालयका अनुसार अपिहिमालले पछिल्ला वर्षहरूमा ५ वर्षे आवधिक योजना, वार्षिक नीति–कार्यक्रम र १० वर्षे पर्यटन रणनीतिलाई सफलतापूर्वक कार्यान्वयन गर्दै सुदूरपश्चिमका प्रमुख पर्यटन गन्तव्यहरूमध्ये एकको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ। अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेगरे बोहराले ३ वर्षको अवधिमा पर्यटन पूर्वाधार विस्तार, समुदाय सहभागिता र हिमाली गन्तव्यको प्रवर्द्धनमा हासिल भएका उपलब्धिले पालिकालाई राष्ट्रिय स्तरमै पहिचान दिलाएको बताए।

पर्यटन विकासमा नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, UNDP का STLRP/StTP परियोजना, सुदूरपश्चिम प्रदेश पर्यटन इकाई, NATTA सुदूरपश्चिम, TAAN, NMA, HAAN तथा स्थानीय सञ्चारकर्मी र पर्यटन प्रवर्द्धनमा सक्रिय संस्थाहरूको सहकार्य महत्वपूर्ण रहेको अध्यक्ष ठेगरेले उल्लेख गरे। यस्तै स्थानीय जनप्रतिनिधि, कर्मचारी, अपिहिमालबासी, होमस्टे तथा होटल व्यवसायी, कन्टेन्ट क्रियटरदेखि काठमाडौंका पर्यटन व्यवसायी र अपिहिमाल पर्यटन सद्भावना दूत हिमालय भट्टसम्म सबैको योगदानले आजको उपलब्धि सम्भव भएको बताइएको छ।

अपिहिमाल गाउँपालिकाले सुदूरपश्चिमको उच्च हिमाली पर्यटन क्षेत्रमा ट्रेकिङसँगै हिमाल आरोहण पर्यटनको सुरुवात गरिसकेको छ। स्थानीय अर्गानिक उत्पादनलाई कृषि पर्यटनसँग जोडिँदा रोजगारी र आम्दानीमा समेत सकारात्मक प्रभाव परेको गाउँपालिकाले जनाएको छ। अपीदेखि सैपाल हिमालसम्मको नयाँ पर्यटन रुट विकास गर्ने लक्ष्यअनुसार हाल विभिन्न तयारी कार्य अघि बढाइएका छन्।

२०७८ असोज १० (सेप्टेम्बर २७) अर्थात विश्व पर्यटन दिवसकै दिन तत्कालीन सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री रमेश धामीले अपिहिमाल बेसक्याम्पमा पर्यटन भ्रमण वर्षको उद्घाटन गरेका थिए। ठीक दुई वर्षपछि सोही दिन पालिका देशकै उत्कृष्ट पर्यटन पालिका घोषित हुनु आफूहरूले हासिल गरेको उपलब्धिकै पुष्टि भएको अध्यक्ष ठेगरेले बताए।

विश्व पर्यटन दिवसको मुख्य समारोहमा सहभागी हुन नसकेका अध्यक्ष ठेगरेलाइ मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले मन्त्रालयमै बोलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। सम्मान प्रदान गर्ने सचिव तथा सहसचिवप्रति उनले विशेष आभार व्यक्त गरेका छन्।


ताजा समाचार