जलेको कार्यालयमा भुइँमै बसेर सेवा दिँदै काेहलपुर-११ का वडा अध्यक्ष शर्मा
बाँके । जेन–जी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा नष्ट भएको कोहलपुर नगरपालिका वडा नं. ११ को कार्यालय अहिले पुनःनिर्माणको क्रममा छ । कार्यालयका सम्पूर्ण फर्निचर र कागजात जलेर नष्ट भए पनि वडा अध्यक्ष कल्पना शर्माले जनताका काम रोकेकी छैनन।
भौतिक सुविधा नहुँदा पनि उहाँ भुइँमै बसेर नागरिकका सेवा प्रदान गरिरहेकी छन। वडा अध्यक्ष शर्माले भनिन्,
“जनताका काम नरोकिन भन्न भुइँमै बसेर काम गरिरहेका छौं । कार्यालय पुनःनिर्माणको काम भइरहेकाले अहिले यस्तै अवस्थाबाट सेवा दिइरहेका छौं ।”
वडाले लालपुर्जा प्राप्त जमिनको कर संकलनदेखि जन्म, मृत्यु दर्ता, बसाइँसराइ र सिफारिसजस्ता दैनिक सेवा बिना अवरोध सञ्चालन गरिरहेको छ ।
वडा सचिव लक्ष्मी योगीका अनुसार, “कार्यालय पुनःनिर्माणको चरणमा रहेकाले अहिले एउटै कोठाबाट सबै सेवा प्रवाह भइरहेको छ ।”
हाल वडा कार्यालयको पुनःनिर्माणका लागि विभिन्न व्यक्ति, संघसंस्था र कोहलपुर नगरपालिकाबाट सहयोग जुट्ने क्रम जारी छ ।



