प्रतिनिधिसभा विघटनविरुद्ध प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण

काेहलपुर, भदौ २८ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिमाथि नै कानुनी, राजनीतिक र संवैधानिक प्रश्न उठिरहेको बेला जनप्रतिनिधिहरूको निर्वाचित थलो भंग गर्ने राष्ट्रपतिको कदम असंवैधानिक तथा स्वेच्छाचारी ठहरिएको उल्लेख गरिएको छ।
“लोकतान्त्रिक मूल्य–मान्यता विपरीत जनप्रतिनिधिको भूमिकामाथि प्रहार हुने गरी गरिएको यस्ता कदमले लोकतन्त्रको जग नै कमजोर पार्ने निष्कर्षमा हामी पुगेका छौं,” विज्ञप्तिमा भनिएको छ।
प्रेस स्वतन्त्रता, विचार अभिव्यक्ति र नागरिक अधिकार समेत खतरामा पार्ने गरी गरिएको यो निर्णय तत्काल खारेज गर्न चौतारीले जोडदार माग गरेको छ। साथै, जनताले पुनः एकपटक लोकतन्त्र र संविधानको रक्षाका लागि जाग्नुपर्ने बेला आएको समेत विज्ञप्तिमा उल्लेख छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लामो समयदेखि संघर्ष गर्दै आएको चौतारीले सबै सञ्चारकर्मीलाई संयमित रहन आह्वान गरेको छ। विज्ञप्तिमा विषम परिस्थितिमा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई राज्यले पर्याप्त सुरक्षा दिनुपर्ने माग समेत गरिएको छ।


ताजा समाचार