प्रधानमन्त्रीको सिफारिसबमोजिम राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन
आगामी २०८२ फागुन २१ गते निर्वाचन मिति ताेकियाे
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति प्रतिनिधिसभा विघटन गर्नुभएको छ। प्रधानमन्त्री नियुक्त भएको केही घण्टामै कार्कीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्।
राष्ट्रपति कार्यालयले मध्यरात जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको सिफारिसबमोजिम संविधानको व्यवस्था अनुसार प्रतिनिधिसभा विघटन गरिएको छ। आगामी २०८२ साल फागुन २१ गते निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्रीलाई कार्यादेश दिइएको छ।”
प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रिय सभा भने कायमै रहने उल्लेख गरिएको छ। संविधान अनुसार माथिल्लो सदन निरन्तर रहने प्रावधान छ।
पहिलो महिला प्रधानमन्त्रीको जिम्मेवारी

नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्की यसअघि सर्वोच्च अदालतकी प्रमुख न्यायाधीशका रूपमा काम गरिसकेकी थिइन्। न्यायपालिकाबाट कार्यपालिकाको नेतृत्वमा पुगेकी उनी अब मुलुकलाई निर्वाचनमार्फत नयाँ जनादेशतर्फ लैजाने जिम्मेवारीमा छिन्।
निर्वाचन तयारीमा सरकार
निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई अधिकतम छ महिनाको समय दिइएको छ। निर्वाचन आयोग, सुरक्षा निकाय र सरोकारवाला निकायलाई अब चुनावको तयारीमा जुट्नुपर्ने दबाब छ। आगामी चुनावले मुलुकको राजनीतिक दिशाबारे निर्णायक सन्देश दिने अपेक्षा गरिएको छ।
नेपालमा प्रतिनिधिसभाको पछिल्लो निर्वाचन २०७९ सालमा सम्पन्न भएको थियो।




