पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन सहमति
काेहलपुर । नेपालको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री बन्ने सम्भावना सुनिश्चितजस्तै बनेको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा सहमति जुटेको खबर आएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बिहीबार मध्यरात शीतल निवासमा बसेको उच्चस्तरीय छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भएको बताइएको छ ।
जेन–जी आन्दोलनको तर्फबाट कार्कीको नाम सिफारिस गरिएको थियो । सोही नामबारे भएको छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति, सुशीला कार्की स्वयं र कानुनविद् ओमप्रकाश अर्याल सहभागी रहेको स्रोतले जनाएको छ ।
तर, संसद विघटन गर्ने वा नगर्ने विषयमा अझै मतभेद कायमै छ । यद्यपि, सहमति अनुसार कार्कीलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिए शुक्रबार नै शपथग्रहण हुने कार्यक्रम तय भएको छ ।
यससँगै नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री जन्मिने सुनिश्चित भएको छ ।




