बाँके, कठ्याँग्रिदो जाडो र शीतलहरका कारण बाँके, बर्दिया, लगायत तराईको जनजीवन थप कष्टकर बन्दै गएको छ ।मंगलबार बिहानैदेखि चलेको शीतलहर र कठ्याँग्रिदो जाडोले विहान मानिसहरुलाई हिँडडुल गर्न समेत समस्या भएको छ ।
शीतलहरसँगै बढ्दै गएको चिसोका कारण विशेष गरी वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा विभिन्न प्रकारका समस्या देखा पर्न थालेका छन।
चिसोका कारण सडकमा हिँडडुल गर्ने सर्वसाधारणको संख्यामा कमी आएको छ भने अति आवश्यक कार्य बाहेक घर बाहिर निस्कन छाडेका छन् । साथै चिसोले बजारमा सर्वसाधारणको उपस्थिति न्यून रहेको तथा सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको चाप कम हुँदै गएको छ । यसैगरी, चिसोका कारण अस्पतालमा बिरामीहरुको संख्या बढ्दै गएको छ । जाडोले ग्रसित भएका बालबालिकादेखि वृद्धवृद्धा उपचारका लागि अस्पताल आउने गरेकोे भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।
बाक्लो हुस्सुका कारण बाटो समेत ढाकिने हुँदा सम्भावित दुर्घटनाबाट बच्नको लागि ट्राफिक प्रहरीले गाडीको बत्ती बालेर आवतजावत गर्न चालकहरुलाई आग्रह गरेको छ । साथै चिसोका कारण विद्यालय तथा कलेजको पठन पाठन समेत प्रभावित भएको छ ।
