परम्परागत सीप सिकाउँदै गाेरखा युनाइटेड स्कुल

अनिता अधिकारी
काेहलपुर,मंशिर  १७ गते । काेहलपुर नगरपालिका–२ मा रहेको गाेरखा युनाइटेड पब्लिक स्कुलले विद्यार्थीहरुलाई  परम्परागत सीप सिकाई रहेको छ । सो विद्यालयले परम्परागत सीप अन्तर्गत सालको पातको दुना तथा टपरी बुन्ने सीप र कपासकाे ज्याेति ( बाती) काट्ने सिप प्रदान गरिरहेको छ । जोस, जाँगरका साथ विद्यार्थी पनि सिकिरहेका छन् ।

आधुनिक प्लास्टिकका थाल, कचाैराको प्रयोगले सालको पातको टपरीको प्रयोग घट्दै गएकोले यो सीप र संस्कृतिबाट दीक्षित गर्न सीप प्रदान भइरहेको विद्यालयले जनाएको छ । लोपोन्मुख नेपालीका परम्परागत सीप र संस्कृतिसँगै दैनिक पठनपाठनको कामलाई विद्यालयले अघि बढाए अनुरूप विद्यार्थीलाई पुराना नेपाली सीप र संस्कृति बारे व्यवहारिक ज्ञानसहितको प्रयोगात्मक शिक्षा दिने उद्देश्य अनुरूप सालको पातको दुना तथा टपरी बुन्न र कपासकाे बाती काट्न सिकाएको विद्यालयका प्रिन्सिपल साधना थापाले बताउनुभयो ।

व्यवहारिक ज्ञान दिन विद्यार्थीलाई सालको पातको दुना तथा टपरी बनाउन सिकाएको उहाँले बताउनुभयो । किताबी ज्ञान भन्दा व्यावहारिक ज्ञानबाट विद्यार्थीले धेरै सिक्ने र सजिलैसँग सिक्ने भएकोले स्थानीय स्तरको बासको सिन्काको सहायतामा बुन्न सिकाएकाे विद्यालयले जनाएको छ ।

दुना टपरी बनाउन छात्रा मात्रै नभई छात्रले पनि रुचि पूर्वक सिकिरहेको विद्यालयका सहायक प्रिन्सिपल बद्री प्रसाद शर्माले जानकारी दिनुभयो । पछिल्लो समय प्लाष्टिक तथा कागजका प्लेटहरूले बजार ढाकेको र वातावरण समेत प्रदूषण पारेकाले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान दिने उद्देश्यले सीप सिकाइएको यहाँले बताउनुभयो । अहिलेका बालबालिकाहरूले परम्परागत व्यवहारिक सिपहरू भुल्दै गएको हुनाले यसको संरक्षण गर्न तथा वातावरणमैत्री दुना टपरी गाँस्ने सिप सिकाइएको उहाँ बताउनुहुन्छ । विद्यालयका महिला शिक्षकहरुले प्रशिक्षण प्रदान गरेको प्रिन्सिपल थापाले जानकारी दिनुभयो ।

नेपाली गाउँघर र ग्रामीण जीवनयापनको जीवन्त पाटो मध्ये एक हो सालको पातको टपरी बनाउने सीप । कृषि प्रधान अधिकांश नेपाली ग्रामीण जीवनयापनको अनिवार्य अङ्ग हुन् यी सीप र संस्कृति । तर आधुनिकतासँगै भित्रिएको नवीनतम प्रविधि, औजार उपकरणले यसलाई बिर्सँदै गएको छ नेपाली समाजले ।हाम्राे समाजमा विवाह, व्रतबन्ध, विभिन्न पूजा तथा विभिन्न चाडपर्वमा सालको पातको दुना टपरी प्रयोग गर्ने प्रचलन रहेकाे छ।

सम्बन्धित समाचार