नेपालगन्ज, ६ मंसिर
नेपालगन्ज-गुलरिया फोरलेन हुलाकी राजमार्ग अन्तरगत बाँकेको खजुरा स्थित पेडारी नालामा पुल निर्माणका लागि नेकपा एमालेका संघीय सांसद दीपा शर्माले निरन्तर पहल गर्दै आएकी छिन् । लामो समयसम्म पुल नबन्दा खजुराबासी र सो पुल भएर आवतजावत गर्ने सवारी साधनले ठूलो सास्ती खेप्दै आएका छन् ।
ण
पेडारी नालामा पुल निर्माणको विषयलाई लिएर केही दिन पहिले मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केदार शर्मा र डिजी रामहरि पोख्रेललाई भेट गरेर तत्काल उक्त ठाउँमा पुल निर्माण कार्य अगाडि बढाउन पहल गरेपछि मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरि अगाडि बढाउन निर्देश दिएको सांसद शर्माले जानकारी दिइन । उनले बाँकेका विभिन्न विकास निर्माणका कामको अवलोकन गर्ने क्रममा गतवर्ष हुलाकी राजमार्ग अन्तरगत उक्त पुलको नाजुक अवस्था हेरेपछि पहल थालेको बताइन् ।
हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जले ११ करोडको लागत ३३ मिटर लम्बाई र २२ मिटर चौडाई रहने गरि डिजाइन स्टमेट गरि बहुवर्षीय योजना अन्तरगत स्वीकृतिको लागि विभागमा पठाईएको कार्यालय प्रमुख लिलाराज भण्डारीले जानकारी दिए । उनले यो पुल बक्स पुल हुने र लागत स्टमेट सबै विभागमा पेश भएकोले स्वीकृत भएर आवश्यक बजेट आएको खण्डमा ७ महिनामा काम सकिने बताए । हालसम्म स्वीकृत भएको छैन प्रमुख भण्डारीले भने दीपा माननीयले विशेष चासोका साथ पुलको लागि पहल गर्नु भएको छ ।
नेकपा एमालेकी केन्द्रीय सदस्य तथा बाँके ३ की इन्चार्ज शर्माले विकास निर्माणका योजना विशेषगरि अधुरा योजना आफ्नो नजरमा पर्ने गरेको बताइन् । उनले परसपुर-गैघाट सडक खण्डको निर्माण तत्काल अगाडि नबढाए ठेक्का रध्द गरेर भए पनि अर्को निर्माण कम्पनीमार्फत गर्नु पर्ने सुझाव सम्बद्ध निकायलाई दिएकी छिन् । खजुरा क्षेत्रका यी २ योजना वर्षौदेखि अलपत्र छन् ।