जनताहरूको सुखदुखमा सहभागी हुन पाउँदा नै मलाई आनन्द आउँछ – उमेदवार ढकाल

काेहलपुर ,नेकपा एमालेबाट बाँके निर्वाचन क्षेत्र न १ का प्रतिनिधि सभा सदस्य उमेदवार सूर्य ढकालले जनताहरूको सुखदुखमा सहभागी हुन पाउँदा नै आफुलाई  आनन्द आउँने बताएका छन।
उमेदवार ढकालले  सामाजिक संजालमा एक अपिल गर्दै जनताको सेवालाई केन्द्र विन्दुमा राखेर राजनीतिमा होमिएकोले आफू जन भावना विपरीत नजाने स्पष्ट पारेका छन ।यस्ताे छ उनकाे अपिल।
हार्दिक अपिल
आदरणीय  बाँके क्षेत्र नं. १ काआमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू नमस्कार  ।

बिद्यार्थी राजनीति र युवाको राजनीति गर्दा मैले देश चिन्न पाएको थिएँ भने पार्टीको राजनीति गर्न थालेपछि मैले भूगोलसङ्गै समाज चिन्न पाएको छु । जुन दिनदेखि पार्टीको राजनीति गर्न थाले त्यस दिनदेखि मैले बाँके क्षेत्र नं. १ नै रोज्दै आएको छु ।

पार्टीको राजनीति गर्ने क्रममा बाँके क्षेत्र नं १ का हरेक टोलटोलमा पुगेको छु। खोला नाला र पुलपुलेसा तरेको छु । मलाई  बाँके क्षेत्र नं १ का हरेक बस्तीहरूका समस्याहरूको बारेमा जानकारी छ । यी गाउँ टोलहरूको मुहार फेर्ने सङ्कल्प बोकेर यस पटकपटकको निर्वाचनमा होमिएको छु । मेरो यो सङ्कल्प पूरा गर्न यहाँहरूको सहयोगको खाँचो छ । समर्थनको खाँचो छ । जुन सहयोग र समर्थन गर्ने वाचा यहाँहरूले गर्नु भएको छ जसले मलाई उत्साहित बनाएको छ । यो उत्साहका लागि यहाँहरूप्रति आभारी छु ।

बाँके क्षेत्र  नं. १ मा बसेर राजनिती गर्न थालेको पनि वर्सौं बितेको छ । यहाँ बसेर राजनीति गर्न थालेपछि पहिला  मैले यहाँको भूगोल चिने ।  त्यसपछि मलाई यस भूगोलमा बसोबास गर्ने मानिसहरूले मन अर्थात भावना बुझ्ने मौका मिल्यो । यसपटक  चुनावको  प्रचारप्रसारका क्रममा यहाँका जनताहरूको नजिकबाट आत्मा बुझ्न पाइरहेको छु । यो क्षेत्रमा द्वन्द्वकालमा बसाइँसराइ गरेर आउनेहरूको सङ्ख्या अधिक रहेछ । धेरैको पीडा सुन्न पाएँ ।  द्वन्द्वकालमा बसाइँसराइ गरेर आएका पीडितहरूको पीडाले निकै मर्माहत बनाएको छ । ओठ हाँसे पनि मन हाँस्न नसकेको अनुभव राम्रोसङ्ग गरेको छु मैले । मनमा भएका यी घाउहरूले दिएका पीडाहरूमा मलम लगाउन सकू भन्ने लागेको छ ।

द्वन्द्वकालको पीडाको अनुभव मलाई पनि छ । म पनि एक पीडित हुँ । मेरा भाइहरू प्रहरीमा भर्ना भएकै कारण हामीहरू  दुई दसक पहिला बर्दिया छोडेर कोहलपुर आइपुगेका थियौं । आफू समेत पीडित भएकोले हरेक पीडाहरूलाई राम्रोसँग अनुभव गरेको छु मैले । यी पीडाहरू कम गर्ने तर्फ मेरो उपस्थिति रहिरहने छ भन्ने वाचा गर्दछु ।

कोहलपुर, राप्तीसोनारी र नरैनापुरका आ आफ्नै खाले बिशेषता र समस्याहरू छन् । यी विशेषता र समस्याहरूका बारेमा म परिचित छु। यी समस्याहरू आजसम्म समाधान भइसक्नु पर्थ्यो तर भएनन् । जसलाई हामीले निर्वाचित गरेर पठायौं उहाँहरूले समयको गतिलाई समात्न सक्नु भएन जसले गर्दा हामी पछि परेका छौं । हामीले हाम्रो गतिलाई तिब्र पार्नु जरूरी छ । समयको गतिसङ्गै हिड्न सक्ने उम्मेदवार छान्नु जरुरी छ । योग्य, दक्ष, बौद्धिक र क्रियाशील युवा छान्नु जरुरी छ । विगतमा निर्वाचित भएकाहरूले के गरे र के गरेनन् भनेर मुल्यांकन गरी  विवेकपूर्ण तरिकाले यसपटकको मत दिनु जरूरी छ ।

मलाई लाग्छ यहाँहरूले कल्पना गरेको र यहाँहरूको मनमा बस्न सक्ने उम्मेदवारका रूपमा यहाँहरूले मलाई हेर्नुभएको छ  भन्ने अनुभव मैले गरिरहेछु । मलाई सुखको भन्दा दुखको अनुभव बढी छ । म धेरै पटक लडेको छु, पछारिएकाे छु,  हरेक पटक सङ्घर्ष गर्दै उठ्ने मात्रै होइन लम्कने प्रयास गरेकोले नै  हजुरहरू समक्ष आउन सकेको छु। मेरो पेसा व्यवसाय जे भने पनि समाज सेवा हो । जनताहरूको सुखदुखमा सहभागी हुन पाउँदा नै मलाई आनन्द आउँछ । म यो आनन्द छोडेर अन्यत्र जान पनि सक्दिन । म हिजो पनि जनतासङ्ग थिएँ र भोलि पनि जनतासङ्गै रहने छु ।
राजनीतिप्रति यहाँहरूको गुनासो र  वितृष्णा छ । हामीले चुनेर पठाएका नेताहरू जिम्मेवार नहुँदा यो वितृष्णा बढेको यथार्थ लुकाएर लुक्न सक्दैन । साढे तीन दसक लामो राजनीतिक यात्रामा मैले यही बुझेको छु । जनताको सेवालाई केन्द्र विन्दुमा राखेर राजनीतिमा होमिएकोले म सबै जस्तो हुन चाहन्न र मेरो त्यो स्वभाव पनि छैन ।

अब मङ्सिर ४ आउन धेरै समय छैन । यो निर्वाचनले यहाँहरूको भाग्य र भविष्य निर्माण गर्ने भएकोले विवेक पुर्याउनु हुनेछ भन्ने आसा गरेकोछु ।

अन्त्यमा
चुनावको दौरानमा म पनि बाँके क्षेत्र नं १ को प्रतिनिधि सभाको उम्मेदवार भएकोले यहाँहरूको सहयोगको अपेक्षा गरेको छु । आफ्नो, आफ्ना परिवार, छरछिमेक र इष्टमित्रहरूलाई समेत सूर्य चिन्हमा छाप लगाउन अनुरोध गर्दै सहयोग गर्नु हुन अपिल गर्दछु ।

सम्बन्धित समाचार