मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलको अध्यक्षतामा दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको हो।

समारोहलाई सम्बोधन गर्दै सहकुलपति  पौडेलले जिम्मेवार नागरिक उत्पादन गर्ने महत्वपूर्ण शैक्षिक थलोका रूपमा मध्यपश्चिम विश्वविद्यालयलाई व्यवस्थित गर्न अनुरोध गरे।

शिक्षा क्षेत्रमा सरकारको लक्ष्यसँगै अनिवार्य, नि:शुल्क र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने संविधानको मर्मलाई पूरा गर्न मध्यपश्चिम विश्वविद्यालयले भूमिका खेल्ने जोड दिए।

शिक्षामन्त्रीको अध्यक्षतामा भएको विश्वविद्यालयको प्रमुख अतिथि रहेको भारतका कैलाश सत्यार्थीले शिक्षा व्यक्तिगत स्वतन्त्रताको प्रमुख अंग भएको बताए।

शिक्षा आफूलाई आत्मनिर्भर मात्र नभई आफूलाई सुरक्षित बनाउने एक हतियार भएको उनले बताए।

सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थीले समारोहमा दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्दै आफूले प्राप्त गरेको शिक्षालाई समाजको जिम्मेवारीका रूपमा लिन आग्रह गरे।

 

उनले नेपालसँग ४० वर्षदेखि आफ्नो सम्बन्ध जोडिएको बताए। नेपालबाट बेचबिखनमा परेका कतिपय बालबालिकाको उद्दार आफ्नो अभियानबाट गरिएको उनले बताए।

दोस्रो दीक्षान्त समारोहबाट विभिन्न संकायका स्नातकोत्तर तहका ९ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिएको छ। जसमा मानविकी र सामाजिक शास्त्र संकायका ३, व्यवस्थापन संकायका ३, शिक्षा शास्त्र संकायका ३ जना छन्।

यस्तै, स्नातक तहका २० जना विद्यार्थीलाई उपकुलपति पदक प्रदान गरिएको छ। मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय र इञ्जिनियरिङ संकायमा स्नातक उत्तीर्ण ४–४ जनालाई उपकुलपति पदक प्रदान गरिएको प्रचार प्रसार उपसमिती सदस्य पत्रकारिता तथा  आमसञ्चार विषयका प्रमुख युवराज शर्मा जानकारी दिए

समारोहका अवसरमा व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण २ जना र स्नातक तह उत्तीर्ण ३ जनालाई सुर्खेत उद्योग वाणिज्य संघ स्वर्ण पदक प्रदान गरिएको छ।

विश्वविद्यालयमा अध्ययन गरेका ५ सय १९ जनालाई समारोहको अवसरमा दिक्षित गरिएको छ। मानविकी तथा समाजशास्त्र संकायका ४४, व्यवस्थापन संकायका ५३, शिक्षा शास्त्र संकायका १९, विज्ञान तथा प्रविधि संकायका १५, इञ्जिनियरिङ संकायका १४५ जना स्नातक उत्तीर्ण विद्यार्थीलाई दिक्षित गरिएको हो।

स्नातकोत्तरतर्फ मानविकी र समाजशास्त्र संकायका १०८, व्यवस्थापन संकायका ६८ र शिक्षा शास्त्र संकायका ६६ जना दीक्षित भएका छन्।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट पहिलो विद्यावारिधी उपाधि लिएका एक जनालाई पनि दीक्षित गरिएको छ।

वीरेन्द्रनगर–८ कुइनेपानीमा नवनिर्मित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा भएको समारोह अघि विश्वविद्यालयको सिनेट पनि सञ्चालन गरिएको थियो।

यो मध्यपश्चिमाञ्चल विश्वविद्यालयको यो दोस्रो दीक्षान्त समारोह हो। यसअघि २०७४ असार १९ गते पहिलो दीक्षान्त समारोह भएको थियो।

त्यसअघि विश्वविद्यालयको २०७३ भदौ २० गते विशेष दीक्षान्त समारोह भएको थियो। उक्त विशेष समारोहमा साहित्यकार झमकुमारी घिमिरेलाई विद्यावारिधि उपाधिसहित दीक्षित गरिएको थियो।

Setopati …….

सम्बन्धित समाचार