एमाले बाँकेकाे आयाेजनामा आकस्मिक रक्तदान सम्पन्न
काेहलपुर,बाँके

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउनकाबीच पनि रगतको अभाव कम हुन नेकपा एमाले बाँकेले रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ को सङ्क्रमणको त्रास र लकडाउनका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न काेहलपुरमा रक्तदान गरिएको हो। सामाजिक उत्तरदायित्व वहन गर्दै नेकपा एमाले बाँकेले शुक्रबार रक्तदान कार्यक्रम गरेको नेकपा एमालेका जिल्ला सचिव रत्न खत्रीले बताए।
काेहलपुर शिक्षण अस्पतालकाे प्राङ्गणमा आयोजित कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् ।
नेकपा एमाले बाँकेका सचिवालय सदस्य अब्दुल हुसेन खाँनले एक युनिट रगत दिएर कार्यक्रमकाे शुभारम्भ गरेका थिए। आवश्यकता अनुसार रक्तदान कार्यक्रमलाई निरन्तरता दिने खाँनले जानकारी दिए।
लकडाउनको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको हो। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमाले का बाँके अध्यक्ष अशाेक काेइरालाले लकडाउनको सीमा क्षेत्र भित्र रही रक्तदान जस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे। रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए। कोरोनाको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई उनले धन्यवाद दिए। रक्तदान कार्यक्रममा जिल्ला सचिव रत्न खत्री लगायत स्थानीय नेता, कार्यकर्ताको समेत उपस्थिति थियो।




