एसईई आन्तरिक मूल्याङ्कनबाट

काठमाडौं । यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएको छ । कक्षा १२ को परीक्षा पनि वैकल्पिक विधिको माध्यमबाट हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले एसईई विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएपछि गृहकार्यसमेत त्यसैगरी अगाडि बढेको जानकारी दिए ।

एसईई विद्यालयमै जिम्मा दिने निणर्य मन्त्रिपरिषद्ले गरेको छ । विद्यार्थीको समयको सदुपयोग हुने तथा नयाँ शैक्षिक सत्रसमेत अगाडि बढ्न सहज हुने भएकाले एसईई र कक्षा १२ दुवैको निकास खोल्न लागिएको हो । कक्षा ११ को परीक्षा यसअघि नै विद्यालयलाई जिम्मा दिने निणर्य भइसकेको छ । देशभरीबाट ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारीमा छन् ।

यो वर्ष जेठ १३ गतेदेखि एसइई तोकिएको थियो । यद्यपि संक्रमण बढ्दै जाँदा सम्भव नदेखिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो । गतवर्ष पनि अहिलेको जस्तै अवस्था आएपछि सम्बन्धित विद्यालय आफैले आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो ।

सरोकारवालाले यस वर्ष पनि आन्तरिक मूल्याङ्कन गराउन सुझाव दिएका थिए । एसईई परीक्षा दिने परीक्षार्थी सबैको इन्टरनेट, ल्यापटप र कम्प्युटर नहुने भएको र मोबाइलबाट कक्षा लिएजस्तै परीक्षा दिन नसकिने भन्दै आन्तरिक मूल्याङ्कन विधि नै सबैभन्दा उपयुक्त भएको जोड दिइएको थियो ।

अनुमति पाएगत्तै मूल्याङ्कन

परीक्षा सञ्चालनका लागि सरकारको अनुमति पाएलगत्तै प्रक्रिया सुरु गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण कायमै रहेको अवस्थामा पनि वैकल्पिक विधिबाट मूल्याङ्कन गर्न आफूहरूले प्रक्रिया सुरु गर्ने बोर्डका अध्यक्ष प्रा.चन्द्रमणी पौडेलले जानकारी दिएका छन् ।

पुरानो मोडलको तीन घण्टाको परीक्षा हुने सम्भावना लगभग टरेको अवस्थामा विभिन्न विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्ने प्रस्ताव सरकारलाई पठाइएको उनले बताए । वैकल्पिक विधि भन्नाले विद्यालय तथा शिक्षकमा आधारित भएर नै मूल्याङ्कन गर्ने योजना रहेको जानकारी उनले दिए । गत वर्षभन्दा फरक तरिकाको मूल्याङ्कन गर्ने मोडल आफूहरूले स्थापित गराउन चाहेको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार