भाटभटेनीले गर्याे कर्णाली बिपद काेषमा २५ लाख सहयाेग
सुर्खेत ,२८ चैत्र ।

भाटभटेनी सुरपमार्केट एण्ड डिपाटमेन्टल स्टोर प्रा.लि. ले सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली सरकारको विपद् कोषमा २५ लाख सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, उपचार, राहत कोषमा भाटभटेनी सुपरमार्केटले शुक्रबार २५ लाखको चेक संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्ति बहादुर वस्नेतलाई हस्तान्तरण गरेको हो ।
भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुङले वन तथा वातावरण मन्त्रालयमै पुगि मन्त्री वस्नेतलाई चेक हस्तान्तरण गरेका थिए । भाटभटेनीले केन्द्र सरकारको स्थापना गरेको विपद् कोषमा १ करोड, सात वटै प्रदेशका प्रदेश सरकारलाई २५÷२५ लाखका दरले गरी कुल २ करोड ७५ लाख सहयोग रकम उपलब्ध गरिएको भाटभटेनी सुपरमार्केट एण्ट डिपाटमेन्टल स्टोर प्रा.लि.का क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए ।
भाटभटेनी सुपर मार्केटले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीपहिरो, भुकम्पको समयमा पनि सहयोग उपलब्ध गराउँदै आएको बताउँदै संचालक गुरुङले भने ‘म आफु पनि नेपाली भएकाले एक नेपालीमा परेको समस्यामा अर्को नेपालीको मन दुख्ने गर्छ । हाम्रो सानो सहयोगले धेरै जनतालाई राहत पुग्न सक्छ । हामीले धेरै सामाजिक कार्यमा सहयोग पर्याउदै आएका छौं ।’
भाटभटेनी सुपरमार्केट एण्ट डिपाटमेन्टल स्टोर प्रा.लि. को १८ औं शाखा केही साताअघि नेपालगंजमा खुलेको छ । देशका प्रमुख सहर काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, विराटनगर, विराटनगर, भैरहवा, नेपालगंजमा लकडाउकाे अबधिमा होम डेलिभरी सेवा दिईरहेको छ ।




