बाँके क्षेत्र न. १ मा उत्साहित एमाले, माहोल अनुकूल रहेको दाबी

कोहलपुर– बाँके निर्वाचन क्षेत्र नं. १ मा सूर्य ढकाल को पक्षमा चुनावी माहोल सकारात्मक बन्दै गएको एमाले नेताहरूले दाबी गरेका छन्।
मतदातामा देखिएको केही भ्रमलाई स्पष्ट पार्ने अभियान जारी रहेको र त्यसको सकारात्मक प्रभाव परेको नेताहरूको भनाइ छ।
नेकापा एमाले निर्वाचन परिचालन कमिटी, क्षेत्र नं. १ का संयोजक तथा एमालेमा केन्द्रीय सदस्य बसन्ती अधिकारीले एमालेका सबै नेता–कार्यकर्ता एकताबद्ध भएर सक्रिय रूपमा खटिरहेको बताइन्। “मतदातामा केही भ्रम थियो, हामीले त्यसलाई स्पष्ट पार्दै गइरहेका छौं। अहिले माहोल राम्रो बन्दै गएको छ,” उनले भनिन्।
नेकपा एमाले कोहलपुर नगर अध्यक्ष कुलबहादुर भट्टराईले कोहलपुर क्षेत्रमा एमाले अग्रस्थानमा रहेको प्रतिक्रिया दिए। उनले जनताको साथ र समर्थन बढ्दो क्रममा रहेको उल्लेख गरे।
यस्तै, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तुल्सीराम थारुले ढकाल सांसद रहँदा राप्तीसोनारीमा उल्लेखनीय काम भएको दाबी गरे। “माननीय सूर्य ढकालले यहाँका जनतासँग निरन्तर भेटघाट गर्नुभयो र समस्याको समाधानमा पहल गर्नुभयो। यस पालिकामा हामीलाई खासै अप्ठ्यारो छैन,” उनले बताए।
नरैनापुर गाउँपालिका अध्यक्ष ताज अहमद खाँनले पनि सूर्य ढकालले नरैनापुरलाई सधैं प्राथमिकता दिएको उल्लेख गर्दै जनताको सकारात्मक प्रतिक्रिया पाएको दाबी गरे। “पहिलेभन्दा एमालेको मत बढ्नेमा हामी विश्वस्त छौं,” उनले भने।
एमाले नेता कुस्माखर बस्यालका अनुसार बाँके–१ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ भने उम्मेदवार ढकालले पनि घरदैलो र छलफल कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्।


ताजा समाचार