बाँके, नेपाली कांग्रेस बाँके विशेष महाधिवेशनकाे पक्षमा देखिएकाे छ।
नेपाली काग्रेस बाँकेले पार्टीको वर्तमान राजनीतिक परिस्थिति, आन्तरिक चुनौती र संगठनात्मक सुदृढीकरणका लागि विशेष महाधिवेशन अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। जिल्ला कार्यसमितिले विशेष विज्ञप्ति जारी गर्दै पार्टीको ऐतिहासिक जिम्मेवारी बहन गर्न विशेष महाधिवेशनको पक्षमा एकताबद्ध हुन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेको छ।
विज्ञप्तिमा नेपाली कांग्रेसको विधान २०७७ को धारा १७ को उपधारा २ बमोजिम विशेष महाधिवेशन यही माघ २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उल्लेख गरिएको छ। पार्टी वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्रको रक्षा तथा समसामयिक राजनीतिक चुनौतीहरूबारे ठोस निर्णय लिन विशेष महाधिवेशन महत्वपूर्ण अवसर हुने जनाइएको छ।
नेपाली कांग्रेस केवल एउटा राजनीतिक संगठन मात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला भएको उल्लेख गर्दै विज्ञप्तिमा यस ऐतिहासिक घडीमा महाधिवेशन प्रतिनिधिहरूको सहभागिता औपचारिक उपस्थितिमा सीमित नहुने, पार्टी र राष्ट्रको भावी दिशानिर्देशनसँग प्रत्यक्ष रूपमा जोडिएको दायित्व भएको उल्लेख गरिएको छ।
जिल्ला कार्यसमिति बाँकेले सबै प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा अनिवार्य उपस्थित भई महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अपिल गरेको छ। सक्रिय सहभागिताबाट मात्र नेपाली कांग्रेसलाई थप बलियो, विश्वसनीय र जनमुखी बनाउन सकिने विज्ञप्तिमा उल्लेख छ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल र केन्द्रीय सदस्य मैकुलाल वाल्मीकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्रको रक्षा र पार्टीको सुदृढ भविष्यका लागि प्रतिनिधिहरूको जिम्मेवार सहभागिताको आवश्यकता औंल्याइएको छ।
नेपाली कांग्रेस बाँके विशेष महाधिवेशनको पक्षमा, प्रतिनिधिहरूलाई सक्रिय सहभागी हुन अपिल




