आगलागीले ध्वस्त इलाका प्रशासन कार्यालय कोहलपुरले तत्काल सेवा दिन नसक्ने
बिनाेद भट्टराई
काेहलपुर । आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेकाे इलाका प्रशासन कार्यालय काेहलपुरकाे सेवा अनिश्चित बनेको छ । जेनजीको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट ध्वस्त भएको इलाका प्रशासन कार्यालय काेहलपुरले सेवा तत्काल सुचारु गर्न समस्या देखिएको हो ।

इलाका प्रशासन कार्यालय काेहलपुरका प्रमुख अन्तिम सिंजालीले आगजनी र तोडफोडबाट कार्यालयका कागजात, कम्प्युटरसहितका विद्युतीय उपकरण, फर्निचरलगायत सबै सरसामग्री खरानी भएकाले तत्कालै सेवा दिन सक्ने अवस्था नरहेको बताउनुभयो ।
आगलागीबाट कार्यालय प्रमुखकाे कार्यकक्षदेखि नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वितरण गर्ने सबै शाखा जलेर भग्नावशेष मात्रै बाँकी छ ।

कार्यालयमा कार्यरत कर्मचारीहरु उपस्थित भए पनि सेवा प्रवाह गर्ने ठाउँ र उपकरण नभएकाले तत्काल काम सुरु गर्न नसकिने अवस्था छ । दशैँअघि नागरिकता, पासपोर्ट वा परिचयपत्र पाउने सम्भावना नरहेको कार्यालयका प्रमुख अन्तिम सिंजालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “डिभाइस र सर्भर विभागले पठाएपछि मात्र सेवा सुचारु हुन्छ । अहिले कार्यालयमा बस्ने ठाउँसम्म छैन ।”
आगजनीपछि सेवाग्राहीहरु भने कार्यालयमा निरन्तर आइपुगिरहेका छन् । बिहान १० बजेपछि पासपोर्ट र नागरिकता लगाएतका विभिन्न काम लिएर आउनेहरुको लर्काे लाउने गरेकाे छ ।
गृह मन्त्रालयले क्षतिको विवरण मागेको र त्यही अनुसार रिपोर्ट पठाइएको कार्यालय प्रमुखले जानकारी दिनुभयो । तर अहिलेसम्म कुनै सहयोग नआएको उहाँको गुनासो छ । “लुटिएका दुई वटा कुर्सी फिर्ता ल्याएकाे बाहेक कार्यालयमा काम गर्न लायक केही बाँकी छैन, पूर्ण रूपमा नष्ट भएको छ,” प्रमुख सिंजालीले भन्नुभयो ।
आगजनीले ध्वस्त बनेको इलाका प्रशासन कार्यालय कोहलपुरबाट व्यक्तिगत सिफारिस लगाएतका सामान्य काम गर्न समेत एउटा पनि कम्प्युटर नभएकाले समस्या परेकाे कार्यालय प्रमुख सिंजाली बताउनुहुन्छ ।




