बाँके सभापति गौडेलमाथि कांग्रेस सह-महामन्त्री राठौरको कटाक्ष, कार्यकर्ताको आक्रोश
काेहलपुर । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले जिल्ला सभापति नारायण प्रसाद गौडेलमाथि व्यक्तिगत टिप्पणी गरेपछि स्थानीय नेता तथा कार्यकर्ताबीच असन्तुष्टि ब्यक्त गरेका छन।
बाँकेको एक कार्यक्रममा राठौरले सभापति गौडेलले आफूलाई चुनाव हराउन लागिपरेकाे टिप्पणी गरे। सह महामन्त्री राठौरले पार्टी विधान नबुझी विद्राेही व्यक्तिलाई पार्टी प्रवेश गराउन खोजेको आरोप समेत लगाए। सह महामन्त्री राठौरले “कक्षा ४ पनि नपढेका सभापतिले के विधान बुझ्लान्” भन्ने कटाक्ष गर्दै सार्वजनिकरूपमा अपमान गरेका थिए।
राठौरको भनाइ सार्वजनिक भएपछि काँग्रेस नेता कार्यकर्तादेखि विपक्षी दलका नेतासम्मले आपत्ति जनाएका छन्।
काेहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सहमहामन्त्री ज्यूलाई जिल्ला सभापतिको काममा गुनासो वा आक्रोश थियो भने त्यो पार्टीको बैठकमा राख्नुपर्ने बताए। । उनले भने,” हामीलाई अपमान होइन, समाधान खोज्ने नेतृत्वको जरुरी छ।”
कोहलपुर–८ का वडाअध्यक्ष लालबहादुर रानाले सामाजिक सञ्जालमा लेखेका छन्, “नियत र क्षमतै नभएका मान्छेले नैतिकताको कुरा गर्छन्। नारायण गौडेल काँग्रेसको सम्पत्ति र सान हुन्, कसैका दास होइनन्।”
एमाले नेता प्रमोद धितालले पनि राठौरको अभिव्यक्ति असोभनीय र निन्दनीय भएको टिप्पणी गर्दै गौडेललाई “काँग्रेसको असल सिपाही” भनेका छन्।
त्यस्तै, फेसबुकमा छविलाल डाँगीले लेखेका छन ,”पार्टीको विधान र अनुशासनको प्रसङ्ग उठाउँदै, नेताले सामाजिक सञ्जालमार्फत दिएको यस्तो टिप्पणीले पार्टीलाई फाइदा भन्दा बेफाइदा हुने चेतावनी दिएका छन्।”
सभापति गौडेलका समर्थनमा धेरै कार्यकर्ताले लामो राजनीतिक यात्रा, संघर्ष र योगदान स्मरण गरेका छन्। शिक्षक नेता पवन यादवले भने, “गौडेल कसैको कृपाले सभापति भएका होइनन्। उहाँ ४५–४६ सालदेखि काँग्रेस राजनीतिमा सक्रिय भएर कार्यकर्ताले रोजेका नेता हो।”
यस्तै, प्रकाश सिग्देलले ४० वर्षदेखि जनताको सुखदुःखमा खटिएका इमानदार र कर्तव्यनिष्ठ नेतामाथि आरोप लगाइएको भन्दै आक्राेस पाेखेका छन्।
स्थानीय कार्यकर्ताले पार्टी हित विपरीत सार्वजनिक टिप्पणी नगर्न सह महामन्त्री राठौरलाई सुझाव समेत दिएका छन।



