आन्दोलनरत शिक्षकलाई वार्ताका लागि मन्त्रालयकाे आव्हान
काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्ताकाे लागि आव्हान गरेकाे छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बिहीबार विज्ञप्ति प्रकाशित गरी वार्ताका लागि शिक्षकलाई आव्हान गरेका हुन्।
‘शिक्षक समुदायसँग विगतझैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार हमेसा तयार रहेकाले यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले काठमाडौँमा आन्दोलनमा जारी राखेका छन्। बाँके जिल्लाबाट पनि हजाराै शिक्षक आन्दोलनमा सहभागी भएका छन। महासंघले विद्यालय शिक्षा विधेयक संसद्बाट तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलन गरेको हो।
यसैगरी विद्यालय शिक्षा विधेयक समयमै पारित गर्ने वातावरण सिर्जना गर्नका निमित्त सिंगो शिक्षक समुदायको पैरवी, सरोकार र ऐक्यबद्धताका बारेमा मन्त्रालय सदैव सकारात्मक रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएकाे छ, ‘शिक्षक समुदायका प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने अपेक्षा रहनु र यस विषयप्रति शिक्षक तथा कर्मचारीको चासो रहनु स्वाभाविकै हो।’
शिक्षा मन्त्रालयले विधेयक संसद्मा पेस हुने, छलफल हुने र स्वीकृत हुने विधायकी प्रक्रियाका सम्बन्धमा निश्चित कानुनी बन्दोबस्तबारे पनि स्मरण गराएको छ। विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख छ।




