तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको तयारी पुरा, मुख्यमन्त्री आचार्यले उद्धाटन गर्ने
१६ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा आइतबारदेखि संचालन हुन लागेकाे तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्ड कपको सम्पुर्ण तयारी पुरा भएको छ ।

आज पत्रकार सम्मेलन गर्दै यहि फागुन १७ गते देखि २४ गते सम्म संचालन हुने तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्ड कपको तयारी पुरा भएको आयोजक रेसिङ्ग सहारा क्लव कोहलपुरले जनाएको हो । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्ड कपको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले शनिबार दिउसाे २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको गोल्ड कपका खेल संयोजक कर्ण बस्नेतले जानकारी दिए ।
उद्घाटन समारोह पश्चात हुने उद्घाटन खेल आयोजक क्लव कोहलपुर रेसिङ्ग सहारा क्लव कोहलपुर र लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ्ग बिच दिउँसोे ३ बजे हुनेछ । नकआउट चरण अन्तर्गत खेलिने खेलमा बिजेता टिमले ८ लाख नगद सहित मेडल र उपबिजेता टिमले ४ लाख नगद सहित मेडल पाउने बताइएकाे छ । त्यसैगरी म्यान अफ दि टुर्नामेन्टलाई ५१ हजार, बेष्ट कोच, बेष्ट गोलकीपर, बेष्ट राइजिङ स्टार, बेष्ट डिफेन्डर, बेष्ट फर्वाडलाई १०–१० हजार र हरेक दिन म्यान अफ द म्याच हुनेलाई पाँच हजार नगदका दरले पुरस्कार प्रदान गरिनेछ ।
कोहलपुर गोल्ड कपका खेल संयोजक मल्लका अनुसार दर्शक ब्यबस्थापनका लागी मैदानलाई चारै तर्फ बाउन्ड्रि गरीएको छ । खेल मैदानमा दुई वटा मुख्य प्रबेशद्वार र दुई वटा आपतकालिन द्धारको निर्माण कार्य सम्पन्न भएको छ । अस्थाई शौचालयको ब्यबस्था, पिउने पानीको ब्यवस्था, बृद्ध तथा अपाङ्गहरुको लागी छुट्टै बसाई ब्यबस्थापन गरीएको र प्रत्यक खेलाडिको विमा पनि गरिएको संयोजक बस्नेतले बताए । यस पटक दर्शक प्रबेशका लागी ५० रुपैया टिकट दर कायम गरीएको र कुनै पासको ब्यबस्था नरहेको उनले बताए । स्थानिय स्तरमा राष्ट्रिय स्तरको गोल्डकप आयोजना हुदैगर्दा सबैले सहयोग गर्न र टिकट काटेरमात्र प्रबेश गर्न उनले आग्रह गरे ।
यसअघि दुई संस्करणका मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता सम्पन्न भइसकेका छन् । यस वर्षदेखि स्थानीय पर्यटन प्रवर्धन र खेलकुद पर्यटन प्रवर्धन समेत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक बस्नेतले जानकारी दिए । प्रतियोगितामा भाग लिन आउने खेलाडी तथा अफिसियलहरूलाई बाँकेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू र बर्दिया राष्ट्रिय निकुञ्जमा समेत अवलोकन भ्रमण गराइने प्याकेज बनाइएको उनले बताए ।
मुख्यमन्त्रि कोहलपुर गोल्ड कपमा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहने आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले जानकारी दिए । घानाको अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ्ग ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ्ग, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ्ग स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्लब गण्डकी प्रदेश र आयोजक कोहलपुर रेसिङ्ग साहारा फुटबल क्लब बाँकेको सहभागिता रहने उनले बताए ।
गोल्डकप सम्पन्न गर्न ९१ लाख २६ हजार रुपियाँ खर्च लागत लाग्ने अनुमान आयोजकले गरेको छ ।




