काेहलपुर,बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा क्यान्सर उपचारको लागि करिव १ अर्वको लगानीमा छुट्टै अस्पताल निर्माण गरिने भएको छ ।
मेडिकल कलेजले सो कार्यका लागि भवन शिलान्यास तथा भूमि पूजन कार्यक्रम सम्पन्न गरेको छ । कलेज परिसरमा एक औपचारिक कार्यक्रम गरी क्यान्सर अस्पतालको शिलन्यास तथा भूमि पूजन कार्यक्रम सम्पन्न गरिएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै मेडिकल कलेजका सञ्चालक कुमार प्रसाद अर्यालले करिब १ अर्ब भन्दा बढि लगानीमा क्यान्सर अस्पताल सुरु गर्न थालेको बताए । पश्चिम नेपालकै सर्वोउत्कृष्ट भवन सहित गुणस्तरीय र प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।
‘शिक्षण अस्पताल कोहलपुरबाट हाल पनि क्यान्सर सम्बन्धी रोगको सेवा दिइरहेका छौं,’ उनले भने, ‘त्यसलाई छुट्टै भवनबाट एकिकृत रुपमा सेवा दिन खोजेका हौं ।’ यस भवनबाट अबको दुई वर्ष भित्रमै बिरामीलाई सेवा दिने गरी काम अघि बढाउने बताए ।
अस्पतालको स्तरोन्नती गर्ने कममा नीजि क्षेत्रबाट पश्चिम नेपालमा पहिलो पटक यस क्षेत्रका विरामीहरुलाई सुविधा सम्पन्न ‘क्यान्सर अस्पताल’को स्थापनाका लागि भवनको शिलान्यास गरिएको लर्ड बुद्ध एजुकेसनल एकेडेमीका उपनिर्देशक श्यामकुमार शर्माले जानकारी दिए ।
अस्पतालबाट गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्यका साथ कलेजको नेपालगञ्ज अस्पतालमा आउँदो महिनादेखि मुटुरोग सम्बन्धी विशिष्टकृत सेवा, क्याथ ल्याब सेवा शुरु हुँने तयारी रहेको अस्पतालले जनाएको छ ।