बाँकेमा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ । गर्मी ह्वात्तै बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।
आज बाँकेमा तापक्रम ४२.८ डिग्री मापन गरिएकाे राझाँ स्थित जल तथा माैसम पुर्वअनुमान कार्यालयका नायव माैसम विज्ञान सहायक शशांक बुढाले दैनिक उज्यालोलाई जानकारी दिनुभयाे। याे तापक्रम यस बर्षकै उच्च हाे।
बिहानैदेखि चल्ने तातो हावाका कारण सर्वसाधारणलाई दैनिक क्रियाकलाप गर्न असहज बन्दै गएको छ । वृद्धवृद्धादेखि बालबालिकासम्मलाई गर्मीका कारण बढी समस्या भएको छ ।
बिहानदेखि घर बाहिर हिँडडुल गर्न मुस्किल भएको छ । गर्मीबाट बच्नका लागि सर्वसाधारणले मात्र नभइ पशुपन्छीले पनि छहारी खोज्न थालेका छन् ।
विद्यार्थी र मजदुर बढीजसो चर्को घामको मारमा परेका छन् । गर्मीका कारण पठनपाठन प्रभावित बनेको छ । बाँके बर्दियाका अधिकांश स्थानीय तहले गर्मी बढेपछि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।