काेहलपुरमा स्थानीय पाठ्यपुस्तक तयार
काेहलपुर : बाँकेकाे काेहलपुर नगरपालिकाले जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक ‘हाम्राे काेहलपुर’ तयार गरेको छ।
विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी दिने उद्देश्यले नगरभित्रका संस्थागत र समुदायिक विद्यालयलाई नियमित पठनपाठन गराउने गरी पुस्तक तयार भएको हो।

कक्षा १ देखि ५ सम्मका लागि तयार उक्त पाठ्यपुस्तक आज एक कार्यक्रमकाबीच सार्वजनिकरण गरिएको छ । कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाद्धारा आयोजित कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले स्थानीय स्रोतसाधनको उपयोग र स्थानीय विज्ञहरुको विज्ञताबाट लेखिएको पुस्तक विद्यार्थीका लागिमात्रै नभएर कोहलपुरबासी सबैका लागि उपयोगी भएको बताए । उनले कक्षा ६, ७ र ८ का लागि पनि स्थानीय पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाए ।
उपमेयर संगिता सुवेदीले विद्यार्थीमा आफ्नो क्षेत्रका बारेमा ज्ञान आर्जन गर्ने र अपनत्व हुनेगरी स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिएको बताइन्।

काेहलपुर नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत रविलाल मिजारका अनुसार नगरभित्रका ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पशुपालन र अन्य विविध विषयहरूलाई समेटेर पाठ्यपुस्तक तयार गरिएको हो।
पाठ्यपुस्तक सार्वजनिक गरिएसँगै चालू शैक्षिक सत्रदेखि कोहलपुर नगरपालिकाका ३१ सामुदायिक र ४९ संस्थागत विद्यालयमा ‘हाम्रो कोहलपुर’ पाठ्यपुस्तक पढाइ हुने अधिकृत रविलाल मिजारले जानकारी दिए । सातवटा एकाइ पुस्तक तयार पारिएको छ ।
प्रकाशन गरिएको करिव ९ हजार पुस्तक काेहलपुरका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीकाे हातमा पुग्नेछन।




