टी-२० विश्वकप २०२४ का लागि नेपाल छनोट

काठमाडौं / आइसिसी टी-२० विश्वकप २०२४ का लागि एसियाबाट नेपाल छनोट भएकाे छ। एसिया छनोटमा आज भएको सेमिफाइनल जित्दै नेपाल आगामी बर्ष हुने टी-२० विश्वकपमा स्थान पक्का गरेकाे छ। शुक्रबार मुलपानी मैदानमा भएको सेमिफाइनलमा नेपालले युएईमाथि ८ विकेटको सानदार जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट भएको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा पुगेसँगै टी-२० विश्वकपमा छनोट भएको हो । युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गरे । आसिफले नटआउट ६३ रन बनाए । उनले ५० बलमा ६ चौका र २ छक्का हिर्काए । रोहित पौडेलले २० बलमा नटआउट ३५ रन बनाए । दुईबीच नटआउट ६८ रनको साझेदारी हुँदा नेपालले सहज जित निकाल्न सफल भएको हो ।

ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए । उनी तेस्रो ओभरको अन्तिम बलमा निलान्स केस्वानीको बलमा मोहमद वासीमबाट क्याच भए । कुशलले आउट हुनुअघि २ चौका हिर्काए । गुल्सन झा दशौं ओभरमा बासिल हमीदबाट २२ रनमा बोल्ड भए । उनले आउट हुनुअघि २४ बलमा ३ चौका प्रहार गरे । त्यसअघि शुक्रबार विहान टस जितेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन जोड्यो ।

युएईका लागि वृत्य अरिवन्दले अर्धशतक प्रहार गरे । अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लबाट क्याचआउट हुनुअघि उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए । आक्रामक सुरुवात गरेको युएईविरुद्ध नेपालले चौथो ओभरमा २ विकेट लिएका थिए । चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका ओपनिङ ब्याटर खालिद शाहलाई ३ रनमा रनआउट गरे । सोमपालले सोही ओभरको चौथो बलमा मोहमद वसीमलाई २६ रनमा करण केसीबाट आउट गरे । वसीमले १६ बलमा ३ चौका र २ छक्का हिर्काए ।

नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए । सन्दीपले दशौं ओभरमा आसिफ खानलाई १३ रनमा एलबिडब्लू धरापमा परे । नेपालका लागि कुशल मल्लले १४ औं ओभरमा चौथो विकेट लिए । उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरे । नेपालका लागि कप्तान रोहित पौडेलले पाँचौ विकेट लिए । उनले युएईका अली नासीरलाई ४ रनमा कुशल भुर्तेलबाट क्याच गराए । त्यतिबेला युएईले १५.५ ओभरमा ५ विकेटको क्षतिमा १०० रन जोडेको थियो ।

सन्दीपले १८औं ओभरमा मेडन विकेट लिएका थिए । उनले सो ओभरमा बासील हमीदलाई १ रनमा आउट गरेपछि पाँच बलमा कुनै रन दिएनन् । बलिङमा नेपालका कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिएर ३ विकेट लिए । उनले अन्तिम ओभरमा २ विकेट लिएका थिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडन राख्दैं मात्र १४ रन खर्चिएर २ विकेट लिएका थिए । अब नेपाल र ओमानबीच टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आइतबार कीर्तिपुर मैदानमा प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार