विधुत प्राधिकरण कोहलपुरले अबदेखि २४ घन्टाभित्र इनर्जी मिटर उपलब्ध गराउने

काेहलपुर


नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले आफ्ना ग्राहकहरुलाई अब २४ घन्टाभित्र इनर्जी मिटर उपलब्ध गराउने भएको छ।
कोहलपुर वितरण केन्द्रमा शुक्रबार एक कार्यक्रमबीच नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्ज प्रमुख सुरज गौतमले सो कार्यको शुभारम्भ गर्नुभयो।
यो शुभारम्भसंगै सेवाग्राहीहरु एउटै कामका लागि पटकपटक कार्यालय धाउनुपर्ने,समय खर्च गर्नुपर्ने लगायतको समस्याको अन्त्य हुने भएकोछ।
सिंगल फेज मिटर जडानका लागि आवेदन गर्ने आफ्ना ग्राहकहरुलाई पहिलो प्राथमिकतामा राख्दै आवेदन दर्ता भएको २४ घन्टाभित्र कोहलपुर वितरण केन्द्रले त्यसरी मिटर उपलब्ध गराउने जनाइएको छ।
कार्यालयमा मिटर मौज्दात रहेको अवस्थामा बिना झन्झट सेवाग्राहीहरुलाई एक दिनमै मिटर उपलब्ध गराउने योजनामा कोहलपुर वितरण केन्द्र अगाडि बढेको हो।
कार्यक्रममा बोल्दै प्रदेश डिभिजन प्रमुख गौतमले छिटोछरितो सेवाप्रवाह तथा सुशासन प्रवर्द्धनका लागि यो कदम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।
कोहलपुर वितरण केन्द्र प्रमुख सुरज रेग्मीले छिटोछरितो सेवा प्रवाहमा आफुहरु प्रतिवद्ध रहेको बताउनु भयो।माथिल्लो निकायबाट मिटर उपलब्धतामा निरन्तरता रहनुपर्ने जोड दिदै केन्द्र प्रमुख रेग्मीले गुणस्तरीय सेवा प्रवाहका लागि केन्द्र लागिपरेको उल्लेख गर्नुभयो।
कार्यक्रममा लमही वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछाने , लुम्बिनी प्रदेश डिभिजन प्रशासन प्रमुख गोपालप्रसाद ओझा, कर्मचारी संघ लुम्बिनी प्रदेश अध्यक्ष दुर्गाप्रसाद जैसी, राष्ट्रिय कर्मचारी युनियनका अगुवा चेत केसी, कर्मचारी कल्याण परिषद केन्द्रीय उपाध्यक्ष दिनेशकुमार प्रधान लगायतको विशेष उपस्थिति रहेको थियो।
पहिलो दिन नै १६ जना ग्राहकहरुलाई सिंगल फेज मिटर हस्तान्तरण गरिएको थियो।
छिटोछरितो सेवाबाट उपभोक्ताहरु पनि हर्षित छन् ।उनिहरुले यो कार्य निरन्तर रहनुपर्ने बताएका थिए।
मिटर जडान,सिकायत फाँंट लगायतका अन्य प्राविधिक कार्यका लागि कोहलपुर वितरण केन्द्रले भने एउटा छुट्टै प्राविधिक समूह परिचालन गरेको छ।


ताजा समाचार