काेराेना संक्रमित देखिएपछि राप्तीसाेनारीमा थप सर्तकता

बाँके(राप्तीसोनारी)

पहिलो कोरोना संक्रमित फेला परेपछि राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सर्तकता बढाइएको छ । राप्तीसोनारीका ९ वटै वडामा सर्तकता बढाइएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनु भयो । ‘राप्तीसोनारीमा पहिलो पटक कोरोना संक्रमित फेला परेपछि थप सर्तकता बढाएका छौं, गाउँपालिकाबासीलाई अत्यावश्यक काम बाहेक कतै आवत–जावत र भिडभाड नगर्न अनुरोध गरेका छौं,’ उहाँले भन्नुभयो ।
भारतको महाराष्ट्रस्थित ‘नासिक’ भन्ने ठाउँबाट फर्केका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ निवासी १८ बर्षिय युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टी भएको थियो । भेरी अस्पताल नेपालगन्जमा भर्ना भइरहेको अवस्थामा प्रयोगशालामा कोरोना जाँच गर्दा पोजिटिभ देखिएको हो । वडा नम्बर ९ का वडाअध्यक्ष महाबीर ओलीका अनुसार युवक यही जेठ ७ गते नेपाल प्रवेश गरेका थिए । उनीसहित उक्त वडाका ४ जनालाई वडा नम्बर ९ स्थित गणेश माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । उक्त क्वारेन्टाइनमा शुक्रबार फर्केका समेत गरी अझै ६ जना बसिरहेका छन् ।
सिमा प्रवेश गरेकै दिन ती युवकलाई ज्वरोको लक्षण देखिसकेको थियो । ‘ज्वरोले झन् च्यापेपछि भोलीपल्ट(जेठ ८ गते) उनलाई हाम्रै एम्बुलेन्सबाट भेरी अस्पतालमा पठायौं, अस्पतालले स्वाब संकलन गरिदियो, अस्पतालमै रहँदा युवकलाई कोरोना भाइरस पोजिटिभ देखियो,’ वडाअध्यक्ष ओलीले भन्नुभयो । कोरोना संक्रमित १८ बर्षिय युवकलाई भेरी अस्पतालबाट खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन कक्षमा सारिएको छ ।
युवकमा कोरोना पोजिटिभ देखिए लगत्तै आफुले अन्य ब्यक्तिको पनि कन्ट्रयाक्ट टे«सिङमार्फत स्वाब संकलन गरिदिन आग्रह गर्दा अहिलेसम्म नभएको वडाअध्यक्ष ओलीको गुनासो छ । उहाँले भन्नुभयो, ‘अस्ति बिरामीलाई भेरी अस्पतालमा पनि धेरै प्रयास गरेर लगिएको हो, युवकलाई पोजिटिभ देखिएपछि अन्य ब्यक्तिको पनि स्वाब संकलन गरिदिन आग्रह गर्दा सुनुवाई भएन ।’

भारतबाट फर्केर आएका ब्यक्तिलाई राप्तीसोनारीका विभिन्न ७ वटा क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले शुक्रबारसम्मको तथ्यांक अनुसार क्वारेन्टाइनमा १ सय ४० जना बसिरहेको जानकारी दिनुभयो । ‘क्वारेन्टाइनमा बसिरहेका ब्यक्तिहरु भारतबाट फर्केर आएका हुन्, अझै फर्किने क्रम चलिरहेको हुँदा संख्या बढ्ने निश्चित छ,’ उहाँले भन्नुभयो । क्वारेन्टाइनमा बसिरहेका ब्यक्तिलाई नेपाल सरकारको निर्देशिका अनुसार ब्यवस्थापन गरिएको बस्नेतले बताउनु भयो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले शुक्रबार कोरोना संक्रमण पुष्टी भएका नरैनापुर गाउँपालिका वडा नम्बर ३ का १३ जनालाई लायन्स डेन्टल अस्पताल नेपालगन्ज र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का संक्रमितलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा राखिएको श्रेष्ठले जानकारी दिनुभयो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ मा बिहीबार संकलन गरिएको ४६ जनाको स्वाबको रिपोर्ट भने अझै आएको छैन । भेरीको प्रयोगशालामा चाप बढेपछि उक्त स्वाब परिक्षणका लागि दाङको घोराही लगिएको छ । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री र स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीले स्वाब दाङ पुर्याएर फर्किनु भएको थियो ।


ताजा समाचार

error: Content is protected !!